रसुवा बाढीमा परेका ओखलढुङ्गाका ५ जना मंगलबार सम्पर्कमा
ओखलढुङ्गान्युज, १७ भदौ काठमाण्डौं । गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा गएको भिषण बाढीमा परि वेपत्ता भएका मध्ये मंगलबार ओखलढुङ्गाका ५ जना सम्पर्कमा आएका छन् । भदौ १० गते देखी नै सम्पर्क विहिन भएका उनीहरु ६ दिन पछि मंगलबार सामाजिक सञ्जाल फेशबुक मार्फत सम्पर्कमा आएका हुन् ।
सामाजिक सञ्जाल मार्फत सम्पर्कमा आउनेहरुमा लाक्पा शेर्पा, सोनाम शेर्पा, मसिन तामाङ, डेन्टी शेर्पा र सनबीर तामाङ रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यो संगसँगै बाढीमा परेर बेपत्ता भएका ओखलढुङ्गाका नागरिक मध्ये सम्पर्कमा आउने तथा उद्धार हुनेको संख्या २० पुगेको छ ।
अझै पनि विभिन्न कामको शिलशिलामा ओखलढुङ्गाबाट रसुवा तथा धादिङमा पुगेका र बाढीमा परि बेपत्ता हुनेको संख्या २८ रहेको छ । बाढीमा परेर ओखलढुङ्गाका कति नागरिकहरु सम्पर्क विहिन भएका छन् भन्ने बारेमा भने अझै पनि वास्तविक तथ्यांक सार्वजनिक हुन सकेको छैन ।

