तोकिएको समय अगाडी नै लिखुको भवन हस्तान्तरण

ओखलढुङ्गान्युज, १६ भदौ यसम । जिल्लाको लिखु गाउँपालिकाको नव निर्मित भवनलाई निर्माण कम्पनीले आज एक औपचारिक कार्यक्रमका विच गाउँपालिकालाई हस्तान्तरण गरेको छ । निर्माण कम्पनीले भवन निर्माणका लागि पाएको समय अगावै भवन निर्माण कार्य सम्पन्न गरेर गाउँपालिकालाई भवन हस्तान्तरण गरेको हो ।
निर्माण कम्पनीले पाएको समय सिमा अगावै काम सम्पन्न गरेर भवन हस्तान्तरण गरेकोमा गाउँपालिका अध्यक्ष कार्कीले निर्माण कम्पनीलाई धन्यवाद दिए । निर्माण कम्पनीले समय अगावै काम सकेर हस्तान्तरण गरेपछि अन्य योजनाका ठेकेदार कम्पनीलाई चुनौती भएको अध्यक्ष कार्कीले बताए । कतिपय योजना निर्माणका कार्य निर्माण कम्पनीले नसकाउँदा गाउँपालिकालाई समेत आर्थिक ब्ययभार थपिने गरेको भन्दै गाउँपालिकाको नयाँ भवन हस्तान्तरणबाट पाठ सिक्न अध्यक्ष कार्कीले आग्रह गरे ।

भवन हस्तान्तरण भएपनि औपचारिक उद्घाटन भने दशैंको आसपासमा मात्र गरिने गाउँपालिका अध्यक्ष कार्कीले बताए । भवनको निर्माण कार्य सम्पन्न गरेर गाउँपालिकालाई निर्माण कम्पनीले हस्तान्तरण गरेको भएपनि गाउँपालिकाको तर्फवाट भवनमा गर्नु पर्ने व्यबस्थापनको कार्य बाँकी रहेकोले उद्घाटन कार्यक्रम पछि राखिएको अध्यक्ष कार्कीले बताए ।
गत २०८२ साल बैशाख ८ गते बाट दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरि आरोन विल्डर्स प्रालिले भ्याट सहित ४ करोड ३२ लाख ७७ हजार ६५३ रुपैया ५२ पैसामा ठेक्का सम्झौता गरेको थियो । निर्माण कार्यलाई तिब्र रुपमा सञ्चालन गरेर आफुले पाएको समय सिमा अगावै निर्माण कम्पनीका प्रमुख विजय सुनुवारले भवनको चावीलाई लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

