नेपाली समय Loading...२०८३ भाद्र ११, बिहीवार

भोटेकोशी बाढीमा हालसम्म ओखलढुङ्गाका १६ जना सम्पर्क विहीन

ओखलढुङ्गान्युज, ११ भदौ काठमाडौं । बुधबार आएको रसुवाको भोटेकोशी बाढीमा परी ओखलढुङ्गाका हालसम्म १४ जना सम्पर्कविहीन भएका छन् । रसुवा हुँदै पदयात्रामा गएका तथा चीनतर्फ गएका उनीहरु सम्पर्क विहिन भएका हुन् ।

सम्पर्कविहीन हुनेहरूमा खिजिदेम्वा गाउँपालिकाको मात्रै नौ जना रहेका छन् । प्राप्त पछिल्लो विवरण अनुसार सम्पर्कविहीन हुनेहरूमा गाउँपालिका वडा नं २ का निमा शेर्पा, लाप्साङ शेर्पा, वडा नम्बर ५ का संगम श्रेष्ठ र सोनाम टासी शेर्पा, वडा नं ९ का छोटी शेर्पा, तेन्जी शेर्पा, गेली शेर्पा तथा वडा नं. ५ का देवराज सुनुवार र काडी शेर्पा रहेका छन् ।

त्यस्तै लिखु गाउँपालिका २ सिंहदेवी कुवापानीका खिल बहादुर बुढाथोकी, लिखु गाउँपालिका ७ का मिलन बेडारी र प्रेम पौडेल, सिद्धिचरण नगरपालिका ७ बिगुटारका काङ्शु शेर्पा, चिशंखुगढी गाँउपालिका ६ भदौरेका सवारी चालक सविन भनिने मेचन कुमार आलेमगर, मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका दिनेश राई चम्पादेवी गाँउपालिका ६ घोराखोरीका चक्र बहादुर खड्का (श्रीनाथ गण रसुवा टिमुरेमा कार्यरत) सम्पर्क विहिन भएका हुन् । तथ्याङ्क संकलनको कार्य भैरहेको तथा खोजी कार्य भैरहेकोले बेपत्ता हुनेको संख्या अझ बढ्न सक्ने सम्भावना रहेको छ । 

अझैपनि विपत्तिको सम्भावना टरी नसकेको कारणले बाढी आएको नदी तटिय क्षेत्रमा साबधानी सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ । उद्दारका लागि आवश्यकता परेमा १२३४ मा टेलिफोन गरेर जानकारी गराउन समेत सरकारले अनुरोध गरेको छ । 

त्यस्तै सम्पर्क विहिन भएका ब्यक्तिहरुको टेलिफोनमा ब्याट्री वा नेटवर्कको समस्याका कारणले पनि सम्पर्कमा आउन नसकेको हुनसक्ने भएकाले उहाँहरुलाई कसैले देख्नु भएमा परिवार तथा नजिकैको प्रहरीलाइ खबर गरिदिन परिवारले अनुरोध गरेका छन् ।