रुम्जाटारमा विद्युत् सर्ट भएर आगलागी, दुई घर जलेर पूर्णरुपमा नष्ट

ओखलढुङ्गान्युज, १० भदौ । जिल्लाको को सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् तार सर्ट भएर आगलागी हुँदा दुईवटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।
बुधबार साँझ करिब ७ बजेतिर बजे स्थानीय कोटमाया कार्कीको ढुङ्गा–माटोले बनेको, खरको छाना भएको दुईतले घरमा अचानक विद्युत्को तार सर्ट भई आगलागी भएको हो । आगो फैलिँदा कार्कीकी बुहारी ज्ञानकुमारी कार्कीको सोही प्रकृतिको दुईतले घरमा समेत आगो लागेको थियो ।
आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी र सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर ओखलढुङ्गाबाट सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल पुगेको थियो । सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीय बासिन्दासँग समन्वय गरी करिब दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
आगलागीबाट दुवै घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । कोटमाया कार्कीको घरमा रहेको अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, करिब एक तोला सुनजस्तो देखिने गहना र नगद २० हजार रुपैयाँसहित करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यस्तै, ज्ञानकुमारी कार्कीको अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र नगद ५० हजार रुपैयाँसहित करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर कुमार शाहले जानकारी दिए ।
आगलागीबाट मानवीय तथा कुनै पशु चौपायामा क्षति भने भएको छैन । पछिल्लो समय ओखलढुङ्गा जिल्लामा विद्युत सर्ट भएर आगलागी हुने र जनधनको क्षति हुने क्रम बढ्दो क्रममा रहेको छ ।

