नेपाली समय Loading...२०८३ भाद्र ३, बुधवार

शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउने मन्त्री परिषदको निर्णय

ओखलढुङ्गान्युज, ३ भदौ काठमाण्डौं । नेपाल सरकारको आज बसेको मन्त्री परिषदको बैठकले शिक्षक तथा विद्यालय कर्मचारीहरुको पारिश्रमिक अनुदान बृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको हो।

आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ बाट बढेर ४८ हजार ५८ पुगेको छ। त्यस्तै, आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक ३४ हजार ७३० बाट ३८ हजार २०३ कायम भएको छ।

यसैगरी, बालशिक्षा सहयोगी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक पाँच हजार थप गरिएको छ । बैठकको निर्णय पश्चात भएको नयाँ व्यवस्थाअनुसार इसिडी सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट १७ हजार, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार पुगेको छ ।

पारिश्रमिक वृद्धि कार्यान्वयनपछि सरकारमाथि वार्षिक चार अर्ब ६८ करोड ९८ लाख २८ हजार १०० थप दायित्व सिर्जना हुनेछ । स्थायी कर्मचारीहरुको तलबमान बृद्धि भएपनि संघिय अनुदानका शिक्षक कर्मचारीहरुको बारेमा तलबमान बढ्ने नबढ्ने भन्ने बारेमा अन्यौलसँगै उनीहरुले असन्तुष्टि जनाएका थिए ।

आफुहरुको पनि स्थायी कर्मचारीको सरह तलबमान बढाउन माग गर्दै आन्दोलनको तयारीमा शिक्षक तथा कर्मचारीहरु लागेका थिए । प्रधानमन्त्रीको चेतावनी पश्चात खाईराखेको जागिर जाने त्रासमा आन्दोलन गर्न शिक्षक तथा कर्मचारीहरुले आँट भने गरेका थिएनन् ।