मिलनले दिए ग्रायुसिका ४ सय विद्यार्थीलाई स्कूल ड्रेस

ओखलढुङ्गान्युज, २२ साउन गाम्नाङ्गटार । लिखु गाउँपालिकाका युवा समाजसेवी मिलन विष्टले चार सय विद्यार्थीहरुलाई स्कूल पोषाक वितरण गरेका छन् । आज (शुक्रबार) एक कार्यक्रमका विच ग्रामोदय युगकवि सिद्धिचरण मावि लिखु गाउँपालिका ६ गाम्नाङ्गटारका झण्डै चारसय विद्यार्थी तथा शिक्षक स्टाफहरुका लागि विद्यालय पोषाक वितरण गरेका हुन् ।

विष्टका प्रतिनिधीको रुपमा उपस्थित भएका उद्धब विष्टले औपचारिक कार्यक्रमका बीच उक्त पोशाकहरु विद्यालयका प्रधानाध्यापक पदम कुमार रोका तथा केहि विद्यार्थीहरुलाई समेत हस्तान्तरण गरेका थिए । विद्यार्थी तथा शिक्षकहरुका लागि झण्डै ५ लाख रुपैयाँ बराबरको विद्यालय पोषाक हस्तान्तरण गरिएको प्रतिनिधी विष्टले जानकारी लिए ।

सहयोगदाता विष्टका बुबा ब्रिटिश लाउरे पेन्सनर थिए । बुबाको निधन पश्चात बुबाको नामबाट आमाले केहि रकम पेन्सन वापत रकम प्राप्त गर्दछन् । स्वर्गीय बुबा तथा आमाको ईच्छा बमोजिम सोही रकम मध्येबाट केहि रकम खर्च गरेर विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई पोशाक वितरण गरिएको विष्टले जानकारी दिए ।

युवा समाजसेवी तथा नेकपा एमालेको तर्फबाट २०७९ को स्थानीय निर्वाचनमा उम्मेदवार बनि पराजित बनेका विष्टले यस अगाडी पनि लिखु गाउँपालिकाका विभिन्न वडाहरुमा रहेका विद्यालयहरुमा विद्यालय पोशाक तथा विरामीहरुको उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्टेचरहरु तथा विरामीहरुलाई सहयोग गर्दै आएका छन् ।

