नेपाली समय Loading...२०८३ श्रावण २७, बुधवार

‎कोशी सरकारबाट कांग्रेस बाहिरियो, मन्त्रीले दिए राजीनामा

‎ओखलढुङ्गान्युज, २७ साउन विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्यका लागि सहमति बनेपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो।

राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू रहेका छन्। यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले पनि राजीनामा दिएकी छन् । उनीहरूले बुधबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।

केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच साउन दोस्रो हप्तामा सरकार सञ्चालन तथा राजनीतिक सहकार्यसम्बन्धी तीनबुँदे सहमति भएपछि कांग्रेसले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । केन्द्रमा भएको राजनीतिक समीकरण परिवर्तनको प्रभाव प्रदेश सरकारमा समेत परेको हो।

‎कांग्रेस र एमालेबीचको सहमतिपछि कोशी प्रदेशमा दोस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो। त्यसक्रममा २०८२ पुस २२ गते सुनुवार, पराजुली, मन्सुरी र लिम्बूसहित कांग्रेसका नेताहरू मन्त्री नियुक्त भएका थिए।

‎कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै कोशी प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठनको बाटो खुलेको छ। अब मुख्यमन्त्री कार्कीले कांग्रेसको स्थानमा नयाँ राजनीतिक साझेदार दलबाट मन्त्री नियुक्त गर्ने तयारी गर्ने सम्भावना छ। जसका लागि प्रदेशमा भएको सिट संख्याको आधारमा मन्त्री परिषदको मन्त्री नियुक्ति गर्न वली र दाहालले निर्देशन दिइ सकेका छन् । 

‎‎राजीनामासँगै कोशी प्रदेशमा सत्ता समीकरण फेरिने निश्चित भएको छ। नयाँ गठबन्धनअनुसार सरकार सञ्चालन र मन्त्रालयको जिम्मेवारी बाँडफाँटलाई चासोका साथ हेरिएको छ।