नेपाली समय Loading...२०८३ श्रावण १९, मंगलवार

दुर्घटना अपडेट : बेपत्ता दुईको पहिचान खुल्यो, एकको अझै बाँकी

तस्वीर‌ : AI

ओखलढुङ्गान्युज, १८ साउन सिन्धुली । आज (शोमबार) विहान मध्यपहाडी लोकमार्गमा पर्ने सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुरमा बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेर तीनजना बेपत्ता भएका छन् । बेपत्ता भएका मध्ये दुईजनाको पहिचान खुलेको सिन्धुली प्रहरीले जनाएको छ । 

बेपत्ता भएका मध्ये कार चालक सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका ७ का ३९ बर्षिय दिल कुमार लामा र सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालिका १ का २८ बर्षका स्काभेटर चालक गणेश थापाको पहिचान खुलेको हो । बेपत्ता भएका गणेशसँगै काम गर्ने स्काभेटरका सहचालक (हेल्पर) को नाम,थर ठेगाना भने खुलेको छैन । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सोमबार बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुङ्गाको सुनकोशी गाँउपालिकाको सिस्नेरी तर्फ गइरहेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको नमस्ते सिस्नेरी बसले सोही दिसाबाट ओखलढुङ्गा तर्फ नै जादैगर्दा सडक किनारमा रोकेर राखिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करले कार सडकबाट करिब ५० फिट तल रहेको सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् बसका चालक सिन्धुलीको फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना लगत्तै प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकायको टोली घटनास्थलमा परिचालन गरिएको छ । नदीमा डुबेको कार तथा बेपत्ता तिनै जनाको खोजी र उद्धार कार्य निरन्तर जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बर्षाको भेलका कारण नदीको पानी धमिलो भएकोले कार र बेपत्ता हुनेहरुको अबस्था अझै अज्ञात रहेको पनि प्रहरीले जनाएको छ ।