नेपाली समय Loading...२०८३ भाद्र १०, बुधवार

रसुवाको भोटेकोशीमा बाढी: त्रिशूली तटीय क्षेत्र खाली गर्न आग्रह

ओखलढुङ्गान्युज, १० भदौ काठमाडौं । बुधबार विहान ९ बजेतिर बाट रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी करीब साँढे तीन घण्टामा धादिङको गल्छी आसपास पुगेको छ । निकै तिब्र रुपमा आएको भिषण बाढी अबको केही घण्टामा नै मुग्लिन पार गर्ने क्रममा रहेको छ ।

तिब्र गतिमा बढीरहेको बाढीका कारण पृथ्वी राजमार्ग, मुग्लिन–नारायणघाट सडक तथा त्रिशूली नदीको छेउछाउमा रहेका बस्ती र बजार क्षेत्रमा उच्च जोखिम रहेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च जोखिमका कारण त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र तत्काल खाली गरी सुरक्षित स्थानमा जान स्थानीय बासिन्दालाइ आग्रह गरेको छ ।

चीनको तिब्बत तर्फबाट भोटेकोशी नदीमा बुधबार बिहान प्रबेश गरेको ठूलो बाढी तल्लो तटीय क्षेत्रमा समेत फैलिन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको हो ।

यसअघि गृहमन्त्री सुदन गुरुङले अर्को सूचना जारी नभएसम्म रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् । गृहमन्त्री गुरुङले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र आवतजावत पूर्ण रूपमा रोक्न आग्रह गरेका छन् ।

बाढीका कारण भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मको भूभाग उच्च जोखिममा रहेको जनाइएको छ । खोज तथा उद्धार आवश्यक परेमा वा कुनै सहायता आवश्यक भएमा निःशुल्क फोन नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ ।