ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बोलेरो रामेछापमा दुर्घटना, चालक घाइते
ओखलढुङ्गान्युज, १ साउन रामेछाप । ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिकाबाट भैसी लिएर काठमाडौंतर्फ जाँदै गरेको बोलेरो जीप रामेछापमा दुर्घटना हुँदा चालक घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेमा बोलेरो चालक दोलखा जिल्ला भीमेश्वर नगरपालिका–२ निवासी २६ वर्षीय रोशन खड्गी रहेका छन् ।
दुर्घटनामा स्थानीय होम बहादुर श्रेष्ठको गोठमा क्षति पुग्नुका साथै गोठमा बाँधेर राखेको एक बाख्राको मृत्यु भएको छ भने पाँच वटा बाख्रा र एउटा भैसी घाइते भएका छन् । बोलेरोमा रहेका चार वटा भैसीमध्ये गोठको छानाको जस्ताले काट्दा एउटा भैसी पनि घाइते भएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान करिब १० बजेतिर रामेछाप नगरपालिका–४ बसेरीस्थित देउराली खोला नजिक बा २१ च २६०७ नम्बरको बोलेरो सडक किनारमा रोकेर राखिएको अवस्थामा एक्कासि ब्याक सर्दै करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
बोलेर मा राखेको ठूला भैंसीले सानै भैंसीलाई किचे पश्चात बोलेरो चालकले गाडीलाई रोकेर भैँसी मिलाउन थालेका थिए । सोही अवस्थामा एक्कासी बोलेर पछि सर्दै सडकबाट खसेको थियो । बोलेर दुर्घटनामा परी घाइते भएका चालक खड्गीलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि रामेछाप नगर अस्पताल, साँघुटार पठाएका छन् । चालकको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनाका बेला गोठमा श्रेष्ठका सानो नाति एक्लै रहेको भए पनि गाडी हेर्न भन्दै घर नजिकैको डाँडातर्फ निस्किएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी साँघुटारबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान सुरु गरेको छ । दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

