लिखुमा हाइअलर्ट, उच्च सतर्कता अपनाउन लिखु गाउँपालिकाको आग्रह
ओखलढुङ्गा, २९ असार यसम । ओखलढुङ्गाको लिखु गाउँपालिकाले लिखु नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गरेको छ । आइतबार दिउँसो देखी लिखु नदीको शिर रहेको क्षेत्रमा अत्याधिक वर्षाका कारण आकस्मिक बाढी आएर क्षति पुर्याउन सक्ने भन्दै हाइअलर्ट जारी गरेको हो ।
h
गाउँपालिकाका अनुसार आइतबार दिउँसोदेखि रामेछापको उमाकुण्ड गाउँपालिका–२, गुम्देल (लिखु नदीको शिर) क्षेत्रमा भीषण बर्षात पछि साँझ लिखु नदीमा आएको बाढीका कारण तीन वटा सडक पुल बगेका छन् भने एउटा होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । साथै, निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा समेत ठूलो क्षति पुगेको र त्यस क्षेत्रको आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस घटनापछि लिखु गाउँपालिकाले नदीमा पुनः आकस्मिक बाढी आउन सक्ने सम्भावना औंल्याउँदै नदी किनार तथा तटीय क्षेत्रका बासिन्दा, यात्रु र सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो। गाउँपालिकाले विशेष गरी लिखु नदी तथा सहायक खोला–खोल्साको जलस्तर केही दिनसम्म र मनसुन अवधिभर अनपेक्षित रूपमा बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ ।
जारी सूचनामा नदी किनार, नदी वारपार तथा जोखिमयुक्त पुल आसपास अनावश्यक रूपमा जमघट नगर्न, आवतजावत, लुगा धुने वा पशुचौपाया चराउने जस्ता गतिविधि नगर्न भनिएको छ। वर्षा भइरहेका बेला वा नदीको बहाव तथा रङमा असामान्य परिवर्तन देखिएमा तुरुन्त सुरक्षित उच्च स्थानमा जान पनि अनुरोध गरिएको छ ।
गाउँपालिकाले नदी किनारमा रहेका घरधुरी, खेतबारी तथा पशुधनको सुरक्षाका लागि पूर्वतयारी गर्न, बाढी वा पहिरोसम्बन्धी कुनै सूचना प्राप्त भएमा तत्काल सम्बन्धित वडा कार्यालय, प्रहरी चौकी वा गाउँपालिकाको विपद् व्यवस्थापन शाखामा जानकारी गराउन पनि अनुरोध गरेको छ।
सूचना जारी गर्दै गाउँपालिकाले सबै वडा कार्यालय, विद्यालय, व्यवसायी, सहकारी, सामुदायिक संस्था तथा स्थानीयवासीलाई एक–अर्कालाई सचेत गराउँदै उच्च सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ।

