जन्तरखानीका विद्यार्थीलाई मुक्तिनाथ बैंकको स्टेशनरी सहयोग

ओखलढुङ्गान्युज, २७ असार । जिल्लाको सिद्धिचरण नगरपालिका ६ जन्तरखानीका विद्यार्थीलाई मुक्तिनाथ विकास बैंक लिमिटेडले खेलकुदका सामाग्री तथा स्टेशनरी सहयोग हस्तान्तरण गरेको छ । सिद्धिचरण नगरपालिकामा रहेको मुक्तिनाथ विकास बैंकको शाखाले जन्तरखानीका दुईवटा विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्रीसँगै स्टेशनरी र झोला वितरण गरेको हो ।

मुक्तिनाथ विकास बैंक लिमिटेडका अनुगमन अधिकृत मुकेश विक्रम वस्तिको प्रमुख आतिथ्यतामा शुक्रबार स्टेसनरी सँगसँगै खेलकुदका सामग्री हस्तान्तरण गरिएको हो । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जन्तरखानी मावि जन्तरखानीका १११ जना तथा नवज्योति मावि मैदानेका १११ जना गरी २२२ जना विद्यार्थीहरूको लागि खेलकुद सामग्री तथा स्टेशनरी सामग्री र ५७ जनालाई ब्याग हस्तान्तरण गरिएको सिद्धिचरण नगरपालिका शाखाका प्रमुख डाइमण्ड राईले जानकारी दिए ।

खेलकुद तथा स्टेशनरी सामाग्री हस्तान्तरण कार्यक्रममा बैंकका अनुगमन अधिकृत वस्तीले बैंकको मुख्य काम बचत लिने र दिने भएपनि त्यस सँगसँगै सामाजिक उत्तरदायित्व पनि रहँदै आएकोले बैंकले विद्यालय तथा विद्यार्थीहरुलाई खेलकुद सामग्री सँगसँगै स्टेशनरी सामग्री हस्तान्तरण गरिएको बताए ।
आफ्नो वडाका विद्यालय तथा विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरिएकोमा वडा अध्यक्ष मेखबहादुर मगरले मुक्तिनाथ विकास बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरेका थिए । बैंकले आफ्नो कार्यक्रम अन्तर्गत जन्तरखानीमा १ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको सिद्धिचरण शाखाका प्रमुख राईले जानकारी दिए ।

