नेपाली समय Loading...२०८३ असार २१, आइतवार

रोशी खोलाले डाईभर्सन बगायो, बीपी राजमार्ग अबरुद्ध

फायल तस्विर

ओखलढुङ्गान्युज, २१ असार काठमाण्डौं आईतबार दिउँसो परेको अविरल बर्षातका कारण रोशी खोलाले डाईभर्सन सडक बगाउदा बीपी राजमार्ग अबरुद्ध भएको छ । राजमार्ग अबरुद्ध हुँदा उक्त सडक हुदै काठमाण्डौं भित्रने तथा काठमाण्डौंबाट तराईका जिल्ला तथा रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ लगायतका जिल्लामा जाने सवारी साधनहरु बाटामा नै अलपत्र परेका छन् ।

आईतबार दिँउसो ३ बजेतिर परेको अविरल वर्षातका कारण काभे्रपलाञ्चोक जिल्लामामा पर्ने रोशी र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएको हो । डाईभर्सन बगाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर सम्भावित जोखिमलाई ख्याल गर्दै बीपी राजमार्गको काभ्रे सडक खण्डमा तत्कालका लागि सबै प्रकारका गाडी आवागमन रोकेको जनाएको छ ।

आईतबारको मुसलधारे वर्षातले रोशी खोलाको जलस्तर पनि उच्च रुपमा बढेको छ । खोलामा जलस्तर बढे पछि र डाईभर्सन बगाएपछि प्रहरीले काठमाण्डौतर्फ र पूर्वतर्फ आवतजावत गरिरहेका सम्पूर्ण सवारी साधनहरुलाई काभ्रेभञ्ज्याङ र मङ्गलटारमा रोकेको छ । वर्षा तथा सडकको अबस्था बुझेर मात्र उक्त सडकखण्डको यात्रा गर्न सबैलाई प्रहरीले अनुरोध गरेको छ ।

आईतबार दिउँसो देशका धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आईतबार मध्यान्ह पछि कोशी, बागमती र गण्डकीका केही क्षेत्रमा ठूलो पानी परेको छ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज राति र भोलि विभिन्न प्रदेशमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।