गृहमन्त्री सुदन गुरुङ हराएपछि कोशीमा खैलाबैला
ओखलढुङ्गान्युज, १९ असार विराटनगर । सुरक्षा निकायलाई कुनैपनि पूर्व जानकारी नदिईकन कोशी प्रदेश आईपुगेका गृहमन्त्री सुदन गुरुङ एकाएक हराएपछि कोशी प्रदेशमा खैलाबैला भएको छ । सुरक्षा निकायलाई जानकारी नै नगराई कोशी प्रदेशको विभिन्न स्थानको अनुगमन गर्नका लागि गृहमन्त्री गुरुङ कोशी प्रदेशमा शुक्रबार पुगेका हुन् ।
सीमा क्षेत्रबाट हुने चोरी, तस्करी र राजस्व चुहावटका विषयमा जनगुनासो बढेपछि वास्तविक वस्तुस्थिति थाहा पाउनका लागि गृहमन्त्री गुरुङ शुक्रबार साँझ कोशी प्रदेश आइपुगेका हुन् । गृहमन्त्री आफ्नो प्रदेशमा आएको सूचना सुटुक्क थाहा पाएको भएपनि उनी कहाँ छन् भन्नेबारे सुरक्षा निकाय अनविज्ञ रहेको छ ।
केही दिनअघि मात्रै मधेस प्रदेशको पर्सा पुगेर सीमा नाकामा स्थानीयसँग चोरी तस्करीका विषयमा जानकारी लिन पुगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सोही सिलसिला अन्तर्गत शुक्रबार गृहमन्त्री गुरुङ कोशी प्रदेशको विभिन्न क्षेत्रको छड्के अनुगमनका लागि आईपुगेको र उनी फिल्डमा कतै रहेको अनुमान गरिएको छ । सुरक्षा निकायलाई कुनै जानकारी विना नै गृहमन्त्रीको आकश्मीक आगमन भएको खबरपछि मोरङका सुरक्षा निकाय हाईअलर्टमा बसेका छन् ।
गृहमन्त्री कोशी प्रदेशमा आकश्मिक पुगेको खबर पश्चात भारतसँग सिमा जोडिएका जिल्लाका प्रशासनिक प्रमुखहरुमा समेत खैलाबैला भएको छ । असारको मसान्तको चटारोको बेला, बर्षायामको सिजनमा सूचना विना गृहमन्त्रीको आगमन र बेपत्ता भएको खबरले शुक्रबार साँझबाटै कोशी प्रदेशसँगै देशको माहौल भने तातेको छ । यो विषयलाई सबैले हाल निकै चासोका साथ समेत हेरिरहेका छन् ।

