नेपाली समय Loading...२०८३ असार १७, बुधवार

चम्पादेवीका निमित्त हाकिम सुवेदी सहित दुईजना विरुद्ध अख्तियारको मुद्दा

ओखलढुङ्गान्युज, १७ असार काठमाण्डौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका दुईजना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियारले उक्त गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी र शिरिस कन्स्ट्रक्सनका सञ्चालक प्रकाश छिरिङ राई विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

चम्पादेवी गाउँपालिकाको वडा नं. १ र २ लाई लक्षित गरेर सञ्चालन गरिएको पलापु खानेपानी लिफ्ट आयोजनाको १८ लाख ५० हजार रुपैयाँ बैंक ग्यारेन्टी रकम हिनामिना गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । नियतवश म्याद गुजारेर सरकारी सम्पत्ति हानी÷नोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले दुवै प्रतिवादीसँग जनही १८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार गाउँपालिकाले पलापु खानेपानी लिफ्ट आयोजना निर्माण कम्पनी शिरिस कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरे पनि काम नगरेपछि ठेक्का रद्द गरी धरौटी रकम जफत गर्ने निर्णय गरेको थियो । तर, निमित्त प्रमुख प्रशासकिय अधिकृत सुवेदीले कार्यपालिकाको उक्त निर्णयलाई लुकाएर बैंक ग्यारेन्टीको म्याद सकिएपछि मात्रै बैंकलाई पत्राचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।