नेपाली समय Loading...२०८३ असार १६, मंगलवार

लिखुको बजेट पउने ४२ करोड, नीति तथा कार्यक्रममा सुशासनमा जोड 

‎ओखलढुङ्गान्युज, १६ असार यसम । लिखु गाउँपालिका ओखलढुङ्गाले आगामी आर्थिक वर्ष २०८३-८४ को लागि पौने ४२ करोडको बजेट सार्वजनिक गरेको छ ‌। गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि ४१ करोड ७५ लाख ६२ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ‌। 

ओखलढुङ्गाको लिखु गाउँपालिकाले कृषि, स्वास्थ्य, पूर्वाधार, खेलकुद र सुशासनलाई उच्च प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले मंगलबार आयोजित २० औँ गाउँसभा अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, सेवा प्रवाहमा सुधार तथा दिगो विकासलाई केन्द्रमा राखेर कार्यक्रम अघि सारिएको बताए।

नीति तथा कार्यक्रमअनुसार कृषि क्षेत्रको व्यवसायीकरणलाई प्राथमिकता दिँदै कृषि सङ्कलन केन्द्र तथा पालिकाको बिउ बैंकलाई थप सुदृढीकरण गरिनेछ। उत्कृष्ट कृषकलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइने र उत्पादन वृद्धि तथा बजारीकरणलाई सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

पूर्वाधार विकास अन्तर्गत गाउँपालिकाका वडा नम्बर १ देखि ९ सम्म जोड्ने चक्रपथ निर्माणलाई प्राथमिकतामा राखिएको छ। नयाँ सडक ट्रयाक खोल्ने कार्यलाई रोक्दै विद्यमान सडकको स्तरोन्नति, मर्मत तथा व्यवस्थापनमा जोड दिइने नीति लिइएको छ। त्यस्तै, सार्वजनिक तथा निजी जग्गामा निर्माण गरिएका अनाधिकृत संरचना हटाइने तथा नक्सा पास नगरी घर तथा टहरा निर्माण गर्ने कार्यमा कडाइ गरिने उल्लेख छ।

खेलकुद क्षेत्रको विकासका लागि दोस्रो गाउँपालिका अध्यक्ष कप सञ्चालन गर्ने उद्देश्यले वडा नम्बर ५ यसममा सुविधासम्पन्न खेल मैदान निर्माण गरिने भएको छ। स्वास्थ्य सेवातर्फ गाउँपालिकामा सञ्चालनमा रहेको अत्याधुनिक अस्पताललाई पूर्णरूपमा सञ्चालनमा ल्याइने, गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने तथा ग्रामीण अल्ट्रासाउन्ड शिविर र उपाध्यक्ष भेटघाट कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

यस्तै, सुशासन र वित्तीय अनुशासनलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित गाउँपालिकाले हाल कायम रहेको १२ करोड ८५ लाख ५८ हजार ७३३ रुपैयाँ बेरुजुलाई घटाएर ७ करोड रुपैयाँमा सीमित गर्ने लक्ष्य निर्धारण गरेको छ।

अध्यक्ष कार्कीले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत कृषि उत्पादनमा वृद्धि, गुणस्तरीय स्वास्थ्य सेवा, व्यवस्थित पूर्वाधार, खेलकुद विकास तथा पारदर्शी र जवाफदेही स्थानीय शासनलाई संस्थागत गर्दै समृद्ध लिखु गाउँपालिका निर्माण गर्ने लक्ष्य लिइएको बताए ।