वडाको काममा लिखु हाइड्रोले अवरोध तथा जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको आरोप
ओखलढुङ्गान्युज, १० असार धोबी । लिखु तामाकोशी गाउँपालिका अन्तर्गत वडाले सञ्चालन गरेको काममा हाइड्रोपावरले अवरोध गरेको भन्दै गाउँपालिकाले आपत्ति जनाएको छ । गाउँपालिकाले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै स्वेतगङ्गा हाइड्रोपावरका कर्मचारीले अवरोध गरेको भन्दै लिखु तामाकोशी गाउँपालिका रामेछापले प्रेस विज्ञप्ति मार्फत विरोध गरेको छ ।
लिखु तामाकोशी गाउँपालिका र सडक बोर्ड नेपालको साझेदारीमा आर्थिक वर्ष २०८२-८३ मा सञ्चालित धारापानी शीरिसे सडक खण्ड योजना अन्तर्गतको सेतीखोलामा नाला निर्माण गर्ने क्रममा हाइड्रोपावरका कर्मचारीले काममा अवरोध गरेको विज्ञप्तिमा जनाइएको छ । उपभोक्ता समिति मार्फत भइरहेको उक्त काममा हाइड्रोपावरका प्रतिनिधिले काम अवरोध गर्नुका साथै निर्वाचित जनप्रतिनिधि वडा नम्बर २ का वडा अध्यक्ष सन्तोष पौडेललाई दुर्व्यवहार गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।
असार १० गते हुने गाउँसभाको तयारी बैठकमा सहभागी हुन गाउँपालिका जाने क्रममा हाइड्रोका प्रतिनिधिले वडा अध्यक्ष लगायत जनप्रतिनिधिलाई बाटोमै रोकी दुर्व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ । नेपालको संविधानको अनुसूची ८ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई प्रदान गरेको क्षेत्राधिकारमा रही गाउँपालिकाले स्थानीय सडकहरूको संरक्षण सञ्चालन तथा व्यवस्थापन गर्ने संवैधानिक र कानुनी जिम्मेवार अनुसार काम गरेको जनाएको छ ।
उक्त काम गर्ने सन्दर्भमा हाइड्रोले गरेको अवरोध तथा जनप्रतिनिधिलाई गरेको दुर्व्यवहार प्रति गाउँपालिकाले विज्ञप्ति मार्फत घोर भर्त्सना गर्दै गहिरो खेद प्रकट गरेको छ । स्थानीय सरकारले सञ्चालन गरेको काममा अवरोध गरेको तथा जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको भन्दै दुर्व्यवहार गर्ने हाइड्रोपावरका आयोजना प्रमुख तथा त्यसमा सहभागी कर्मचारीहरू माथि छानबिन गरी आवश्यक कारबाहीको लागि समेत गाउँपालिकाले विज्ञप्ति मार्फत सरकारवाला निकायसँग माग गरेको छ ।
श्वेतगङ्गा हाइड्रोपावरका प्रतिनिधि राजु राउतले भने हाइड्रोको प्रतिनिधिहरुले जनप्रतिनिधिलाई पनि दुर्व्यवहार नगरेको बताएका छन् । वडाले योजना सञ्चालन गर्ने क्रममा हाइड्रोपावरको जमिनमुनि गाडेको पाइपमा क्षति भएर ठूलो दुर्घटना हुने भन्दै काम भने रोकेको जनाएको छ । उक्त विषयमा मङ्गलबार बिहान प्रहरी चौकी सिरिसेमा प्रहरीकै रोहबरमा दुवै पक्षबीच छलफल भएको राउतले जानकारी दिए । प्रहरी चौकीमा भएको छलफल पछि गाउँपालिकाले निकालेको विज्ञप्ति पश्चात भने आफूहरू अचम्मित भएको राउतले बताए ।
योजना सञ्चालनका क्रममा हाइड्रोपावरमा हुनसक्ने क्षति तथा गाउँपालिकाको विज्ञप्तिका विषयमा छलफल गरिने श्वेतगंगा हाइड्रोपावरले जनाएको छ । उक्त विषयमा हाइड्रोपावरको तर्फबाट जिल्ला प्रशासन कार्यालय मन्थली र गाउँपालिका कार्यालयमा समेत ध्यानाकर्षण गराइने प्रतिनिधि राउतले जानकारी दिए ।

गाँउपालिकाले जारी गरेको विज्ञप्ति

