नेपाली समय Loading...२०८३ असार ७, आइतवार

नागरिकलाई अनुदानमा विद्युतीय चुलो बाड्दै चिशंखुगढी

ओखलढुङ्गान्युज, ५ असार शेर्ना । जिल्लाको चिशंखुगढी गाउँपालिकाले लागत साझेदारीमा आफ्ना नागरिकलाई विद्युतीय चुलो वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै इच्छुक स्थायी बासिन्दा तथा उपभोक्तालाई आवेदन दिन आह्वान गरेको हो ।

गाउँपालिकाले जारि गरेको सूचना अनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC), काठमाडौंसँगको सहकार्यमा सञ्चालन हुने कार्यक्रमअन्तर्गत कुल २ हजार थान विद्युतीय चुलो वितरण गरिनेछ। कार्यक्रमको लागत साझेदारीमा केन्द्रको ७० प्रतिशत, गाउँपालिकाको २० प्रतिशत र उपभोक्ताको १० प्रतिशत योगदान रहनेछ।

सूचनाअनुसार प्रति थान विद्युतीय चुलोको मूल्य (भ्याटसहित) ४ हजार १०८ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ। जसमध्ये उपभोक्ताले १० प्रतिशत अर्थात् करिब ४११ रुपैयाँ मात्र व्यहोर्नुपर्नेछ भने बाँकी रकम केन्द्र र गाउँपालिकाले अनुदानस्वरूप उपलब्ध गराउनेछन् । लागत साझेदारीमा विद्युतीय चुलो प्राप्त गर्न इच्छुक उपभोक्ताले सम्बन्धित वडा कार्यालयमार्फत आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । आवेदन फारामसँग नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने जनाइएको छ।

गाउँपालिकाले असार ८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । विद्युतीय चुलोको प्रयोग विस्तारमार्फत स्वच्छ ऊर्जा प्रवर्द्धन, दाउरा तथा एलपी ग्यासको निर्भरता घटाउने र वातावरण संरक्षणमा टेवा पुग्ने गाँउपालिकाको यस कार्यक्रम मार्फत अपेक्षा रहेको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए ।