नेपाली समय Loading...२०८३ असार ७, आइतवार

छात्रा कबड्डीको उपाधि सगरमाथा जनता माविलाई 

ओखलढुङ्गान्युज, ७ असार । जिल्लाको सिद्धिचरण नगरपालिकामा सम्पन्न भएको अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा कबड्डी प्रतियोगिताको उपाधि सगरमाथा जनता माविले उचालेको छ । उपाधिसँगै सगरमाथा जनता माविले नगद रु ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । 

फाइनल प्रतिस्पर्धामा सगरमाथा जनता माविसँग पराजित भएको प्रबुद्ध मावि च्यानम, सुनकोशी ७ भने उपविजेतामा सिमित भएको छ । उपविजेता बनेको प्रबुद्ध माविले नगद रु २२ हजार २२२ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ‌।

विजेता : सगरमाथा जनता मावि, सिनपा १२

प्रतियोगितामा सेमिफाइनलिष्ट बनेका हिमालय मावि निसंखे र लालिगुराँस इंग्लिस स्कुलले पनि नगद रु ७ हजार ७७७ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । सेमिफाइनलिष्ट बनेका दुवै टीम बिचको सो-म्याचमा भने लालिगुराँस इंग्लिस स्कुललाई हिमालय मावि निसंखेले पराजित गरेको थियो ।

उपविजेता : प्रबुद्ध मावि च्यानम, सुनकोशी ७

गत असार ५ गतेबाट सुरु भएको उक्त प्रतियोगिताको फाइनल खेल समेत शनिवार नै सम्पन्न भएको हो । छोटो सूचना अबधिका कारण प्रतियोगितामा आयोजकले अपेक्षा गरे भन्दा केहि कम टीम नै सहभागी भएको प्रतियोगिताका खेल संयोजक सुमन गुरुङले जानकारी दिए । 

प्रतियोगिताको समापन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै निर्णायक नारायणकाजी राईले खेलाडीहरुलाई लगानी नै नगरी नतिजाको मात्रै आस गर्न नहुने बताए । प्रशिक्षण अभाव तथा खेलकुद सामाग्रीको अभावका बाबजुद पनि सहभागी विद्यालयका खेलाडीहरूले निकै राम्रो खेल प्रदर्शन गरेको उनको भनाइ थियो । खेलमा सहभागी गराइ नतिजा समेत खोज्ने हो तथा साच्चै खेलाडीको उत्पादन तथा विकास गर्ने हो भने सम्बन्धित निकायले विद्यालयको खेलकुद क्षेत्रमा पनि उचित लगानी गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतियोगिताको समापन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले प्रतियोगितामा सहभागी भएका विद्यालयका खेलाडीहरूले निकै राम्रो प्रदर्शन गरेको बताए । कडा मेहेनतले नै खेलको विकास तथा सफलता मिल्ने नगर प्रमुख खनालको भनाई थियो । खेलाडीका कारण देशको समेत नाम र पहिचान हुने भएकाले आगामी आर्थिक वर्षमा सिद्धिचरण नगरपालिकाले खेलकुदको पुर्वाधार विकास तथा खेलाडीहरूको क्षमता विकासमा लगानी गर्न बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरूलाई प्रमुख अतिथि नगर प्रमुख तेजन खनाल, वडा नं. ३ का वडा अध्यक्ष सिताराम दाहाल, वडा सचिव विरेन्द्र तामाङ लगायतले नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा प्रबुद्ध माविकी मनिता कटवाल उत्कृष्ट खेलाडी तथा सगरमाथा जनता माविकी मनिता राइ उत्कृष्ट रेडर घोषित भए । दुवै जनालाई जनहि नगद रु १ हजारका साथमा मेडल प्रदान गरिएको थियो ।

नारायणस्थान मावि असिनेको खेल मैदानमा सम्पन्न भएको प्रतियोगिताको सिद्धिचरण नगरपालिका वडा नं. ३ को वडा कार्यालयले आयोजना गरेको हो ।