नेपाली समय Loading...२०८३ असार ६, शनिवार

चिसङ्खुगढीमा भीषणबाढी, पक्की पुल बगायो, ६ चौपाया बेपत्ता

भीषण बाढीले चिशंखुगढीको बगाएको पक्की पुल

ओखलढुङ्गान्युज, ६ असार ओखलढुङ्गा । जिल्लाको चिसङ्खुगढी गाउँपालिकामा शनिबार आएको भीषण वर्षातका लाखौंको क्षति भएको छ । गाउँपालिकाको क्षेत्रभित्र शनिबार परेको भीषण बर्षात पश्चात आएको बाढीले गाउँपालिका क्षेत्रभित्रको एउटा पक्की पुल बगाउनुका साथै छ वटा चौपाया समेत बगाएर बेपत्ता बनाएको छ ।

शनिबार परेको भीषण बर्षात पश्चात आएको बाढीले चिशंखुगढी गाउँपालिका वडा नं . ३ दियाले र वडा नं. ५ सेर्ना जोड्ने खानीखोलामा रहेको पक्की पुल बनाएर क्षति पुर्याएको छ । खोलाले पक्की पुल बगाए सँगसँगै गाउँपालिकाको मुकाम सेर्नासँग वडा नं १, २, ३ र ६ को सम्पर्कलाई सडक सञ्जालबाट विच्छेद गराएको छ ।

शनिबारको भीषण वर्षात पश्चात आएको बाढीले स्थानीय नागरिकहरूका छवटा पशु चौपाया बगाएर बेपत्ता भएका छन् भने लाखौंको सम्पत्ति क्षति गरेको छ । शनिबारको बाढीले चिसङ्खुगढी गाउँपालिका वडा नं २ बस्ने टीका भुजेलको गाईगोठ बगाउँदा दुहुना भैंसी बेपत्ता भएका छन् । बाढीले सोही ठाउँका मननारायण श्रेष्ठको गोठ पूर्णरुपमा बगाउँदा दुईवटा गोरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर अधिकारीले जानकारी दिए ।

बाढी सँगसँगै आएको पहिरोले सोही ठाउँका मनबहादुर सार्कीको गोठ पूर्णरूपमा बगाउँदा तीनवटा गोरु बेपत्ता भएका छन् । बाढी पश्चात् घर मुनिबाट पहिरो चली घरको अगाडि बाघ क्षति गर्दा रामकुमार राईको परिवार तथा जनकबहादुर मगरको परिवार विस्थापित बनेको छ । उनीहरू स्थानीयको सहयोगमा शनिबार बेलुकी नै छिमेकीकोमा शरणमा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । बाढी पहिरोको कारण भएको क्षतिको बारेमा थप विस्तृत विवरण भने आउन बाँकी रहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

नेपालमा ढिला गरी मौसम भित्रिएको मौसमविदहरूले जानकारी दिएका छन् । ढिला गरी मौसम भित्रिँदा देशका अधिकांश स्थानहरूमा किसानहरूले लगाएको मकै सुक्न लागेको छ भने केही स्थानमा सुरुका दिनमा नै भीषण पानी सँगसँगै बाढी र पहिरोले लाखौंको क्षति गर्न सुरु गरेको छ । वर्षातपछि आउने बाढी पहिरोले क्षति गर्न थालेपछि जोखिमपूर्ण अवस्थामा रहेका घर तथा त्यहाँ रहेका नागरिकहरूलाई विशेष सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले अनुरोध गरेको छ ।