नेपाली समय Loading...२०८३ असार ५, शुक्रवार

क्युआर सहितको राष्ट्रिय परिचयपत्र आफै डाउनलोड गर्न सकिने

ओखलढुङ्गान्युज, ५ असार । नेपाल सरकारले विहिवारबाट आफ्नो राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्ति आफैले नै डाउनलोड गर्न मिल्ने सेवा सुरु गरेको छ । नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयत्र तथा पञ्जीकरण विभागले विहिबार एक सूचना जारी गर्दै परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको जनाएको हो ।

प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सरकार बनेपछि सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत बुँदा नं २ मा ‘विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्युआर कोड सहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने’ उल्लेख थियो । सोहि कार्यसूचिलाई कार्यान्वयन गर्दै मन्त्रालयले सेवालाई परीक्षणका रुपमा सुरुवात गरेको हो । 

मन्त्रालयले सूचना जारी गर्दै विभागको राष्ट्रिय परिचयपत्र सम्बन्धी वेभसाइट https://citizenportal.donidcr.gov.np/ne मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिने जनाएको हो । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएका नागरिकले नाम (नेपाली वा अङ्ग्रेजी), जन्ममिति र नागरिकता जारी मिति पेस गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ ।