ओखलढुङ्गाका तीनजना वडा अध्यक्षको पद खारेज
ओखलढुङ्गान्युज, २७ जेठ । ओखलढुङ्गाका तीनजना वडा अध्यक्षहरूको पद खारेज भएको छ। पद खारेज हुने तीनैजना वडा अध्यक्षहरूमा नेकपा एमालेबाट निर्वाचित बनेका वडा अध्यक्षहरू रहेका छन् ।

पद खारेज भएका वडा अध्यक्षहरूमा नेकपा एमालेबाट निर्वाचित बनेका मोलुङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कमल बानीया, मोलुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कमल तामाङ र चम्पादेवी गाउँपालिका वडा नम्बर ७ बाट निर्वाचित बनेका सुरेशकुमार थापा रहेका छन् । नेकपा एमाले पार्टीको केन्द्रले गरेको सिफारिसको आधारमा निर्वाचन आयोगले आज एक सूचना प्रकाशित गर्दै उनीहरूको पद खारेज भएको जानकारी गराएको हो ।
एमालेबाट वडा अध्यक्ष बनेका तीनैजनाले संविधानसभा सदस्य पदको निर्वाचन २०८२ मा एमाले पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीका तारा चिन्हका उम्मेदवार अमिर बाबु गुरुङलाई सघाएको भन्दै एमालेले उनीहरूलाई कारबाही गरेको थियो । पद खारेज भएका तीनैजनाले आफ्नो पार्टीका उम्मेदवार अस्मिता थापालाई सहयोग नगरी अर्का पार्टीका उम्मेदवारलाई सहयोग गरेको भन्दै एमालेले उनीहरूको पद खारेजीका लागि पार्टी केन्द्रलाई सिफारिस गरेको थियो ।
जिल्ला पार्टीको सिफारिसका आधारमा पार्टी केन्द्रले पनि उनीहरूको पद खारेजीको लागि सिफारिस सहित निर्वाचन आयोगमा निवेदन दिए पश्चात निर्वाचन आयोगले उनीहरूको पद खारेज गरेको हो । उनीहरूले एमालेबाट विद्रोह गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका अमिर बाबु गुरुङलाई सहयोग गरेका थिए ।
संविधानसभा सदस्य निर्वाचन २०८२ मा जिल्ला पार्टीको निर्णय विपरीत केन्द्रले अर्का व्यक्तिलाई उम्मेदवारमा सिफारिस गरेको भन्दै दर्जनौं कार्यकर्ताले एमाले परित्याग गर्दै एमाले ओखलढुङ्गा जिल्ला कमिटीको टिमसहित नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको घोषणा गरेका थिए ।

