राकाथुमका उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

ओखलढुङ्गान्युज, २७ जेठ राकाथुम । खाँडादेवी गाउँपालिका वडा नं. १ राकाथुम रामेछापले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ । मंगलबार श्री माविमा आयोजित औपचारिक कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीलाई प्रमाणपत्र तथा नगदसहित सम्मान गरिएको हो ।

कार्यक्रममा विद्यालयका विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थी तथा कक्षागत परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगदसहित स्टेशनरी सामग्री प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

यसैगरी, एसइई परीक्षा २०८१ मा उच्च जिपिए ल्याई गाउँपालिकाभर प्रथम हुने सुप्रिया श्रेष्ठ तथा तृतीय हुने प्रदीप श्रेष्ठलाई जनही १५ हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

त्यस्तै, श्री मावि राकाथुमबाट एसइई परीक्षा २०८१ मा ३.६० भन्दा बढी जिपिए प्राप्त गर्ने प्रत्येक विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ ।

शैक्षिक सत्र २०८१ अन्तर्गत वडा क्षेत्रभित्रका आधारभूत तह (कक्षा १–५ तथा ६–८) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र उत्कृष्ट नतिजा दिलाउने शिक्षकलाई पनि नगदसहित सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युगेश कुमार यादव, विशेष अतिथिका रूपमा शिक्षा शाखा प्रमुख तिलकराम सापकोटा तथा वडा अध्यक्ष रामकुमार श्रेष्ठकोले उत्कृष्ट अंक ल्याउने विद्यार्थी, सफल शिक्षक तथा विद्यालयलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

रामेछाप जिल्लामा उत्कृष्ट नतिजा दिने विद्यालयमध्ये श्री मावि राकाथुम अग्रस्थानमा पर्दै आएको विद्यालयका रूपमा परिचित छ। विद्यालयले प्रत्येक वर्ष एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यस वर्ष ४ जिपिए प्राप्त विद्यार्थी नभए पनि विद्यालयबाट एसइई उत्तीर्ण विद्यार्थीहरूले काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति परीक्षामा उत्कृष्ट अंक ल्याई पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ ।
विद्यालयमा विद्यार्थीहरूको अभाव भइरहेको बेलामा चालु शैक्षिक सत्रदेखि टाढाका विद्यार्थीलाई लक्षित गरी आवासको समेत व्यवस्थापन गरेको श्री माविमा ४१ जना विद्यार्थी भर्ना भएका छन् । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई समेत विद्यालयको तर्फबाट स्वागत सम्मान गरिएको थियो ।

