५ वर्षीय तात्विक श्रेष्ठको गीतले लोभ्यायो दर्शक

ओखलढुङ्गान्युज, २४ जेठ काठमाडौं । आइतबार सार्वजनिक भएको पाँच वर्षका बालक तात्विक श्रेष्ठले गाएको एक बालगीतले यतिबेला सामाजिक सञ्जाल तथा युट्युबमा चर्चा बटुल्न थालेको छ । सानै उमेरमा संगीतप्रति रुचि र लगाव देखाएका तात्विक हाल यूकेजीमा अध्ययनरत छन् । उनी ओखलढुङ्गामा जन्मिएका गायक दिवस श्रेष्ठ र कञ्चन खत्रीका सुपुत्र हुन् ।
तात्विकका बाजे उदय श्रेष्ठ लामो समयदेखि सांस्कृतिक तथा संगीत क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन् । ओखलढुङ्गा सदरमुकाम बजारमा जन्मघर भएका श्रेष्ठ परिवार हाल ललितपुरको इमाडोलमा बसोबास गर्दै आएका छन् । परिवार नै संगीतप्रेमी भएकाले तात्विक पनि सानैदेखि गीत–संगीत र बाजागाजाप्रति आकर्षित हुँदै आएका छन् ।
बाजे उदय श्रेष्ठका अनुसार उनी संगीत अभ्यास गरिरहँदा वा बाजा बजाइरहँदा नाति तात्विक पनि “म पनि बजाउँछु” भन्दै सँगै रमाउने गर्थे । गीत गाउने क्रममा समेत बालक तात्विकले सँगसँगै गुनगुनाउने बानी विकास गरेको उनले बताए ।
श्रेष्ठले विगतमा आफ्ना छोरा दिवस श्रेष्ठ एलकेजी–यूकेजी तहमा अध्ययनरत हुँदा विद्यालयका बालबालिकालाई सिकाउन बनाएको एउटा पुरानो बालगीत सम्झिने प्रयास गरेका थिए । गीतका केही हरफ मात्र सम्झिएपछि उनले गीत लेखनमा साथ दिएका सोहि स्थानका मोहन श्रेष्ठसँग पनि सम्पर्क गरेका थिए । तर, गीतका धेरै अंश बिर्सिसकिएको अवस्थामा पुरानै भावनालाई निरन्तरता दिँदै नयाँ शब्द थपेर गीतलाई पुनः पूर्णता दिइएको उनले बताए ।
पछि गीतलाई सङ्गीत संयोजन गरेर तयार पारिएपछि बालक तात्विकले समय–समयमा गीत गुनगुनाउन थालेका थिए । बालस्वरमा ताल र सुरको मिठास महसुस भएपछि परिवारले उनलाई स्वतन्त्र रूपमा गाउन प्रोत्साहन गरेको जनाएको छ । सोही क्रममा तयार पारिएको गीत अहिले युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
बाल प्रतिभा, पारिवारिक सांगीतिक वातावरण र पुरानो सिर्जनाको पुनर्जागरणलाई समेटिएको उक्त गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
यहाँ क्लिक गरेर गीत सुन्न सकिन्छ : https://youtu.be/Pf9ejLEw5_s?si=ed7xdvxWebma-f4i

