एकै महिनामा दोश्रो पटक बढ्यो अण्डाको मूल्य

ओखलढुङ्गान्युज, २३ जेठ । एकै महिनामा अण्डाको मूल्य दोश्रो पटक बढेको छ । शुक्रबार बसेको नेपाल लेयर्स कुखुरापालक सङ्घको भर्चुअल बैठकले अण्डाको भाउ फेरी बढाउने निर्णय गरेको हो ।
शुक्रबार बसेको संघको बैठकले आज शनिबारदेखि नै बढेको मूल्य लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको छलफल तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको संघले जनाएको छ ।
नयाँ मूल्यसूचीअनुसार एक्स एल अण्डाको मूल्य प्रतिक्रेट ३० वटाको ५६०, ठूलो अण्डाको ५४५, मध्यम अण्डाको ५१५ तथा सानो अण्डा प्रतिपेटी अर्थात ६ क्रेटको तीन हजार रुपैयाँ कायम गरिएको छ ।
मूल्य बढेसँगै अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै २५ रुपैयाँ पर्ने भएको छ । गएको वैशाख तेस्रो हप्ता एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४६५, ठूलो अण्डाको मूल्य ४९०, मिडियम अण्डाको ४०० तथा सानो अण्डाको प्रतिपेटी २ हजार ३ सय रूपैयाँ थियो ।

