नेकपाले ग¥यो १० जनप्रतिनिधीलाई पदमुक्तको सिफारीस

ओखलढुङ्गान्युज, २३ जेठ । नेपाली कम्युनिष्ट पार्टीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टी र पार्टीका उम्मेद्वारविरुद्ध लागेको भन्दै आफ्नो पार्टीबाट निर्वाचित बनेका गाँउपालिका उपाध्यक्ष सहित १० जना जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस गरेको छ । सप्तरी जिल्ला अन्तरगतका पार्टी केन्द्रीय कमिटी सदस्यहरुको शुक्रबार राजबिराजमा बसेको बैठकले छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजोदेवी यादवसहित १० जनप्रतनिधीलाई पदमुक्त गर्न केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टी र पार्टीका उम्मेद्वारविरुद्ध लागेको भन्दै उनीहरुलाई पदमुक्त गर्नका लागि बैठकले केन्द्रलाई सिफारिस गरेको हो । पदमुक्त गर्न सिफारिस गरिएकाहरुमा छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजोदेवी यादव, वडा नम्बर १ र ६ का वडाअध्यक्ष ललन यादव र कपलेश्वर साह, राजविराज नगरपालिका ७, ८ र १० का वडाअध्यक्ष क्रमशः सुभाष यादव, जयनारायण मण्डल र गंगाराम खंग, विष्णुपुर गाउपालिका १ का वडाध्यक्ष बलराम यादव, रुपनी गाउँपालिका २ का वडाध्यक्ष सरोज यादव, तिलाठी कोइलाडी गाउँपालिका ४ का वडाअध्यक्ष मुनिलाल मुखिया र सुरुङ्गा नगरपालिका १ का वडाअध्यक्ष छत्रबहादुर राउत रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा पार्टीका चुनाव चिह्नबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरू पार्टी र पार्टी उम्मेदवारविरुद्ध लागेको पुष्टि भएकाले उनीहरुलाई कानुन अनुसार पद मुक्त गर्न निर्वाचन आयोगमा कारवाही प्रकृया अगाडि बढाउन केन्द्रलाई सिफरिस गरेको नेकपाका केन्द्रीय सदस्य गोविन्द न्यौपानेले बताए । बैठकले असार १० गतेसम्म जिल्लाका सबै स्थानीय तहहरुमा संगठनात्मक समायोजन प्रकृया टुङ्ग्याउने समेत निर्णय गरेको छ ।

