वडा अध्यक्ष कप फुट्सलको उपाधि सुनाखरी एफसीलाई

ओखलढुङ्गान्युज, २० जेठ राघवपुर । मानेभन्ज्याङको राघवपुरमा सम्पन्न दोस्रो वडा अध्यक्ष कप फुट्सल प्रतियोगिता २०८३ को उपाधि सुनाखरी फुटबल क्लबले जितेको छ । उपाधि जित्दै सुनाखरीले नगद रु ५५, ५५५ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।

फाइनल खेलमा सुनाखरीसँग पराजित भएको बोकुला एफसी उबुले उपविजेता बन्दै नगद रु ३५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा सुनाखरीको तर्फबाट दुवै गोल हाफ टाइम पश्चात भएको थियो ।
फाइनल खेल अगाडि भएको प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा सुनाखरी एफसीले युनाइटेड ब्रदर्स एफसी टिम बी लाई ट्राइबेकरमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । त्यस्तै बोकुला एफसी उबुले राइजिङ बाउनीडाँडालाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । सेमीफाइनलमा पुगेका बाहुनीडाँडा र युनाइटेड ब्रदर्शले पनि नगद रु १५ हजार ५५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरूलाई समापन सत्रका प्रमुख अतिथि मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार राई, वडा अध्यक्ष भीमबहादुर बलम्पाकी मगर लगायत अतिथिहरुले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
२२ टीम सहभागी भई तीन दिनसम्म सञ्चालन भएको फुट्सल प्रतियोगितामा उत्कृष्ट गोलरक्षक सुनाखरी एफसीका प्रधान राई, उत्कृष्ट खेलाडी बोकुला एफसीका विशाल राई, सर्वाधिक गोलकर्ता बोकुलाका मनकृष्ण राई ‘हेमन’ घोषित भए । त्यस्तै उदयमान खेलाडीको ट्रफी तथा प्रमाणपत्र भने आयोजक डी का यानबहादुर मगर घोषित बने । विषयगत विधातर्फ उत्कृष्ट बनेका प्रत्येक खेलाडीले जनही नगद रु २००० का साथमा ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।
खेलकुदको माद्यम मार्फत आफ्नो गाँउलाई प्रचार प्रसार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष भिम बहादुर बलम्पाकी मगरको भनाइ छ । थोरै खेलाडी सहभागी भएर पनि खेल्न सकिने, टाढाका खेलाडीहरु पनि सहजै सहभागी हुन सक्ने तथा खेलकै लागि भएपनि एकपटक प्रदेशमा रहेका युवाहरू लाई गाउँमा ल्याउने उद्देश्यका साथ फुट्सल प्रतियोगिता नै आयोजना गरिएको अध्यक्ष मगरको भनाइ थियो । प्रतियोगिता मानेभन्ज्याङ गाउँपालिका वडा नं ८ राघवपुरको आयोजनामा जेठ १८ गतेबाट सुरु भएर आज २० गते समापन भएको हो ।

