सञ्चार क्षेत्रलाई आत्मनिर्भर बनाउन कोशी प्रदेश सरकार प्रतिवद्ध: मन्त्री पराजुली
ओखलढुङ्गान्युज, ५ जेठ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रदेशको सञ्चार क्षेत्रलाई व्यवस्थित र आत्मनिर्भर बनाउन सरकार योजनाबद्ध रूपमा अघि बढेको बताएका छन् । युगकवि सिद्धिचरण श्रेष्ठको जन्मभूमि ओखलढुङ्गामा काेशी प्रदेशकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयकाे आयाेजना तथा सामुदायीक रेडियाे प्रसारक संघ अकाेरावको सहकार्यमा आजबाट आयोजित प्रदेशस्तरीय रेडियोकर्मीहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विगतको छापा पत्रकारिता र वर्तमानको डिजिटल पत्रकारिताबीच आकाश-जमिनको फरक रहेको उल्लेख गर्दै मन्त्री पराजुलीले बदलिँदो समयमा मिडिया हाउस सञ्चालन र व्यावसायिक पत्रकारिता चुनौतीपूर्ण बन्दै गएको औंल्याए। तीव्र प्रतिस्पर्धात्मक बजारमा सञ्चार क्षेत्रलाई टिकाउन विशेष लगानी, हिम्मत र ऊर्जा आवश्यक रहेको मन्त्री पराजुलीको भनाइ थियो । 
मन्त्री पराजुलीले ढिलै भए पनि प्रदेश सरकारले ‘आम सञ्चार सम्बन्धी ऐन’ राजपत्रमा प्रकाशित गरिसकेको र हाल ‘आम सञ्चार प्रतिष्ठान’ गठनको प्रक्रियामा रहेको जानकारी दिए । ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली र कार्यविधिहरू सरकार आफैंले मात्र नबनाई पत्रकारहरूकै संस्थाको अगुवाइ र अपनत्वमा निर्माण गरिने समेत उनले स्पष्ट पारे ।
“प्रतिष्ठान गठन भएपछि मात्र कार्यविधि बनाउँदा कानुन वास्तविक रूपमा पत्रकारमैत्री हुन्छ भन्ने सरकारको बुझाइ छ,” पराजुलीले भने । बजेट र आर्थिक स्रोतको सीमितता रहेको जनाउँदै उनले उपलब्ध स्रोतलाई योजनाबद्ध ढंगले सञ्चार क्षेत्रको हितमा उपयोग गरिने प्रतिवद्धता जनाए । लोकतन्त्र र मिडियालाई एकै सिक्काका दुई पाटाका रूपमा चित्रण गर्दै मन्त्री पराजुलीले सरकारका कामको अनुगमन गर्ने, विकृति उजागर गर्ने र जनआवाजलाई दबाबका रूपमा प्रस्तुत गर्ने जिम्मेवारी मिडियाकै भएको बताए । ओखलढुङ्गामा जारी चार दिने समीक्षा भेलाले प्रदेशभरिका रेडियोहरूको सबलीकरण र व्यवस्थापनका लागि ठोस निष्कर्ष निकाल्नेमा उनले विश्वास व्यक्त गरे ।
उद्घाटन सत्र कार्यक्रमलाइ कार्यक्रमका विशेष अतिथी जिल्ला समन्वय समितीका प्रमुख टेकराज भट्टराइ, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनाल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत बहादुर खड्का लगायत अतिथीहरूले समेत सम्बोधन गरेका थिए ।

