नेपाली समय Loading...२०८३ जेष्ठ ३, शनिवार

जिल्ला खेलकुदले स्विकार्यो गल्ती : सुनकोशीले ट्रफी र मेडल लिने

ओखलढुङ्गान्युज, ३ जेठ । बिहीबार जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा सम्पन्न भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा आफ्नो कमजोरी जिल्ला खेलकुद विकास समितिले स्वीकार गरेपछि ट्रफी बहिष्कार गरेको सुनकोशी गाउँपालिकाले ट्रफी र मेडल लिने भएको छ । शनिबार जिल्ला समन्वय समितिमा भएको लामो छलफल पश्चात जिल्ला खेलकुद विकास समितिले आफ्नो कमजोरी भएको स्वीकार गरेको हो ।

छलफलमा सहभागीहरू

छलफल पश्चात जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाले एक विज्ञप्ति जारी गर्दै मानेभन्ज्याङमा सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सुनकोशी गाउँपालिकाको तर्फबाट प्राप्त भएको उजुरीलाई जिल्ला खेलकुद विकास समिति कार्यालयको तर्फबाट प्राविधिक त्रुटिका साथ कमजोरी भएको बताएको छ । उक्त त्रुटिलाई जिल्ला खेलकुद विकास समितिको तर्फबाट आत्मालोचना गर्दै आगामी दिनमा त्यस्तो खालको कमजोरी नगर्ने समेत प्रतिबद्धता जनाएको छ । 

विज्ञप्तिमा सुनकोशी गाउँपालिकाले प्राप्त गरेको ट्रफी मेडल तथा प्रमाणपत्रलाई गाउँपालिकाले मिति तय गरेको बखतमा जिल्ला खेलकुद विकास समितिको टिम गाउँपालिकामा गई विजेता विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र हस्तान्तरण गर्ने समेत उल्लेख छ । तर गाउँपालिकाको तर्फबाट चम्पादेवी गाउँपालिकाका खेलाडीको विरुद्धमा दिएको उजुरीको बारेमा भने विज्ञप्तिमा थप केही उल्लेख छैन । छात्र भलिबलको फाइनलमा चम्पादेवी गाउँपालिकाले विद्यार्थीको जन्म मिति सच्याएर उमेर नागेका खेलाडी समावेश गरेको भन्दै सुनकोशीले उजुरी गरेको थियो । 

बिहिबार मानेभन्ज्याङ गाउँपालिकाको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा सिद्धिचरण नगरपालिकाले ८ स्वर्ण, ४ रजत र १० काश्य पदक सहित कुल २२ पदकका साथ प्रथम हुँदै रनिङ सिल्डको उपाधि जितेको थियो । त्यस्तै गत वर्षको विजेता सुनकोशी गाउँपालिकाले ७ स्वर्ण, ८ रजत र ५ काश्य पदक सहित कुल २० पदकका साथ दोस्रो स्थानमा रहन पुगेको थियो । सुनकोशी गाउँपालिकाले दिएको उजुर यदि चम्पादेवी गाउँपालिकाका विरुद्धमा लागेको थियो भने यो पटक पनि सुनकोशी गाउँपालिका प्रथम हुने थियो ।