नेपाली समय Loading...२०८३ जेष्ठ १ शुक्रबार

ओखलढुङ्गामा १५ दिने नेपाली सांकेतिक भाषा तालिम सुरु

ओखलढुङ्गान्युज, १ जेठ ओखलढुङ्गा । जिल्लाको सदरमुकाममा आजबाट बहिरा तथा सुस्त श्रवण व्यक्तिहरूको लागि १५ दिने नेपाली सांकेतिक भाषा तालिम सुरु भएको छ । बहिरा तथा सुस्त श्रवण व्यक्तिहरूको सञ्चार पहुँच सहज बनाउने उद्देश्यले आजबाट नेपाली सांकेतिक भाषा तालिम सञ्चालन गरिएको हो ।

सिद्धिचरण नगरपालिकाभित्र रहेका बहिरा तथा सुस्त श्रवण भएका व्यक्तिहरूले आफ्नै परिवारसँग पनि प्रभावकारी सञ्चार गर्न कठिनाइ भोगिरहेको अवस्थालाई मध्यनजर गर्दै ओखलढुङ्गा बहिरा संघले सिद्धिचरण नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा यो कार्यक्रम आयोजना गरेको ओखलढुङ्गा बहिरा सङ्घका अध्यक्ष लोकनाथ गौतमले बताए । विशेषगरी अभिभावक, दाजुभाइ, दिदीबहिनी तथा परिवारका सदस्यहरूले सांकेतिक भाषा नजान्दा बहिरा व्यक्तिहरूसँग दैनिक संवाद तथा भावनात्मक सम्बन्धमा समस्या हुने गरेको अध्यक्ष गौतमको भनाई थियो ।

आजबाट १५ दिनसम्म सञ्चालन हुने तालिममा सिद्धिचरण नगरपालिका भरिका १० जनाले सहभागिता जनाइरहेका छन् ।तालिममा उदयपुर जिल्लाका प्रशिक्षक ठागेन्द्र आले मगरले सहजीकरण गरिरहेका छन् । तालिममा सहभागी अभिभावकहरूले सांकेतिक भाषा सिकेपछि आफ्ना बहिरा बालबालिका तथा परिवारका सदस्यहरूसँग सहज रूपमा संवाद गर्न सकिने विश्वास व्यक्त गरेका छन् । यस तालिमले बहिरा समुदायको सामाजिक सहभागिता, आत्मविश्वास तथा पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको प्रशिक्षक आलेमगरले बताए ।

ओखलढुङ्गा बहिरा संघ जिल्लाभरि बहिरा समुदायको साझा छाता संस्थाका रूपमा क्रियाशील रहँदै आएको छ । संघले जिल्लाका ८ वटै स्थानीय तहहरूसँग समन्वय गरी बहिरा समुदायका लागि सांकेतिक भाषा तालिम, क्षमता विकास तालिम तथा नेतृत्व विकाससम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।