सुनकोशी गाउँपालिकाद्वारा राष्ट्रपति रनिङसिल्डको ट्रफी मेडल बहिष्कार

ओखलढुङ्गान्युज, ३१ वैशाख मानेभन्ज्याङ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा बिहीबार ओखलढुङ्गा जिल्ला स्तरीय सोह्रौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न प्रतियोगितामा जिल्लाको सिद्धिचरण नगरपालिका प्रथम, सुनकोशी गाउँपालिका द्वितीय तथा मानेभन्ज्याङ गाउँपालिका तृतीय बन्न सफल भए ।
जिल्ला खेलकुद विकास समितिद्वारा आयोजना गरिएको तथा मानेभन्ज्याङ गाउँपालिकाद्वारा व्यवस्थापन गरिएको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा आफूले पाएको ट्रफी मेडल र प्रमाणपत्र भने सुनकोशी गाउँपालिकाले बुझ्न अस्वीकार गरेको छ । खेल सञ्चालनका दौरानमा छात्रतर्फको भलिबलमा चम्पादेवी गाउँपालिकासँग पराजित भएको सुनकोशीले चम्पादेवी गाउँपालिकाका एक छात्रको विरुद्धमा निवेदन हालेका थिए । उक्त निवेदन उपर कुनै कारबाही नभए पश्चात सुनकोशी गाउँपालिकाको टिमले नै आफूले प्राप्त गरेको ट्रफी मेडल र प्रमाणपत्र बुझ्न अस्वीकार गरेको हो ।
छात्र भलिबल प्रतियोगितामा आफू हरू उपविजेता भएपनि चम्पादेवी गाउँपालिकाले फर्जी खेलाडीलाई प्रयोग गरेको सुनकोशी गाउँपालिकाले आरोप लगाएको छ । चम्पादेवी गाउँपालिकाका एक छात्र खेलाडीको जन्मदर्ता बुझ्ने क्रममा जन्मदर्ता केरमेट गरी उमेर घटाएर राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सहभागिता गराएको सुनकोशीको आरोप छ । फर्जी खेलाडी राखेर खेल जितेको भन्दै उक्त जितलाई बदर गरी आफूहरूलाई विजेता बनाउनुपर्ने सुनकोशी गाउँपालिकाको दाबी छ ।
उक्त उजुरीका कारण पुरस्कार वितरणमा निकै ढिला भएको थियो । ढिला गरी वितरण सुरुवात भएको ट्रफी तथा मेडल पनि सुनकोशीले बुझ्न अस्वीकार गरेका थिए । सुनकोशी गाउँपालिकाले दिएको निवेदनमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समितिका सभापति टेकराज भट्टराईको नेतृत्वमा छलफल भएको थियो । छलफल पश्चात् सुनकोशी गाउँपालिकाले दिएको उजुरीका विषयमा उजुरी परेका चम्पादेवीका खेलाडीले शैक्षिक सत्र सुरुवात हुँदाका बखत उमेर नकटेको हुँदा उनले खेल्न पाउने निर्णय सहित उजुरी नलाग्ने निर्णय सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण सुरु गरिएको थियो ।
सुनकोशी गाउँपालिकाले उजुरी गरेका चम्पादेवी गाउँपालिकाका भलिबल खेलाडी छात्र सुरेश बिकको जन्मदर्ताको प्रतिलिपिमा जन्ममिति नेपालीमा २०६४ साल १२ महिना २ गते र अङ्ग्रेजी मिति २००७-८-२४ रहेको छ । जिल्ला खेलकुद विकास समितिमा बुझाइएको जन्मदर्ताको प्रतिलिपिमा नेपाली जन्ममिति भन्ने सच्चाइएको समेत प्रष्ट देखिन्छ । बिकको नेपाली महिनाको जन्म मितिलाई अङ्ग्रेजी महिनामा परिवर्तन गर्दा मार्च १५, २००८ हुन आउँछ । सुनकोशी गाउँपालिकाले त्यही फरक मितिलाई आधार मानेर फर्जी खेलाडी भन्दै उजुरी गरेको थियो ।
तर सुनकोशी गाउँपालिकाले दिएको निवेदनको उद्देश्य विपरीत आयोजक तथा व्यवस्थापकको बैठकले निर्णय गर्दा सुनकोशीले ट्रफी, मेडल र प्रमाणपत्र लिन अस्वीकार गरेको हो । आफूले जितेको सामग्री बुझ्न अस्वीकार गरेको सुनकोशी गाउँपालिकाले शुक्रबार गाउँपालिका फर्किएर आन्तरिक छलफल पश्चात उक्त विषयमा कानुनी प्रक्रियामा अगाडि जाने सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईले जानकारी दिए । यदि कानुनी प्रक्रिया अन्तर्गत मुद्दा प्रक्रिया अगाडि बढेमा चम्पादेवीका छात्र भलिबल खेलाडी सुरेश बिक कानुनी दायरामा आउन सक्छन् ।

