नेपाली समय Loading...२०८३ श्रावण १९, मंगलवार

लिखु तामाकोशी अध्यक्ष उपाध्यक्ष कपको उपाधि चिलाउने तामाङ सेवा समाजलाई 

ओखलढुङ्गान्युज, २७ बैशाख धोबी । रामेछाप जिल्लाको धोबीमा आज सम्पन्न भएको लिखु तामाकोशी गाउँपालिका प्रथम अध्यक्ष/उपाध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि चिलाउने तामाङ सेवा समाजले जितेको छ ।‌ सम्पन्न प्रतियोगितामा उपाधि जित्दै चिलाउने तामाङ सेवा समाजले नगद रु २ लाख ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

आज आइतबार भएको निकै कडा प्रतिस्पर्धात्मक खेलमा चिलाउने तामाङ सेवा समाजले मुगीखोला युवा क्लबलाई ३-२ सेटमा पराजित गर्दै उपाधि चुमेको हो । निकै कडा प्रतिस्पर्धात्मक खेलमा चिलाउने तामाङ सेवा समाजसँग पराजित हुँदै मुगी खोला भने उपविजेतामा सीमित बन्न पुग्यो। उपविजेता बनेको मुगी खोलाले पनि नगद रु १ लाख ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

यसअघि शनिबार तेस्रो स्थानको लागि सम्पन्न भएको प्रतिस्पर्धात्मक खेलमा उज्यालो नेपाल पार्टीको टिमले मन्थली अप्टिकल ग्लास हाउसलाई पराजित गर्दै तेस्रो स्थानमा रहन पुगेको थियो । तेस्रो बनेको उज्यालो नेपाल पार्टीले पनि नगद रु १ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उज्यालो नेपाल पार्टीको टिमसँग पराजित भएको मन्थली अप्टिकल ग्लास हाउसले पनि नगद रु ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको थियो । 

प्रतियोगितामा विधागततर्फ उज्यालो नेपालका धीरजकाजी बस्नेत उत्कृष्ट सर्भर घोषित भए । मुगीखोला युवा क्लबका हरिहजुर थापा उत्कृष्ट सेटर घोषित भए । मुगीखोला युवा क्लबकै सुनिल बोहरा उत्कृष्ट स्पाइकर घोषित भए । त्यस्तै चिलाउने तामाङ सेवा समाजका भीम गाहामगर उत्कृष्ट डिफेन्डर घोषित भए । चिलाउने तामाङ सेवा समाजकै रबिन नगरकोटी उत्कृष्ट ब्लकर घोषित भए । प्रतियोगितामा चिलाउने तामाङ सेवा समाजका चन्द्र कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित भए । विधागततर्फ सर्वोत्कृष्ट बनेका प्रत्येक खेलाडीलाई ट्रफी सहित जनही नगद रु ५ हजार प्रदान गरिएको थियो । 

वैशाख २४ गतेबाट २६ गते सम्म सञ्चालन हुनेगरी सुरु भएको प्रतियोगितामा पानी परेर खेल प्रभावित बनेपश्चात फाइनल खेल भने २७ गते मात्र सञ्चालन भएको हो । लिखु तामाकोशी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि लिखु तामाकोशी गाउँपालिका रामेछापका अध्यक्ष केशव महत, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष दीपा पाख्रिन लगायत अतिथिहरूले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । 

प्रतियोगितामा प्रथम भएको चिलाउने तामाङ सेवा समाज लिखु तामाकोशी ३ का तर्फबाट नेपाल पुलिस क्लबका खेलाडीहरुले सहभागिता जनाएका थिए। त्यस्तै मुगीखोला युवा क्लब मन्थली नगरपालिका ७ को तर्फबाट त्रिभुवन आर्मी क्लबका खेलाडी तथा उज्यालो नेपाल पार्टीको टिमको तर्फबाट कोशी प्रदेश तथा बागमती प्रदेशका स्टार खेलाडीहरुले सहभागिता जनाएका थिए । हजारौँ दर्शकहरूको उपस्थितिका बीचमा सम्पन्न भएको खेलको सभापतित्व भने लिखु तामाकोशी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुशीयल तामाङले गरेका थिए।

प्रतियोगिता अबधि भर चटपटे लाइभ बेकरी तथा खाजाघर धोबीका सञ्चालक भरत बुढाथोकीले बोटलको पिउने मिनरल पानी तथा प्रतियोगिताका विजेता टिमको लागि धोबी भलिबल कप केकको निःशुल्क व्यवस्थापन गरिदिएका थिए ।