ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र पेष

ओखलढुङ्गान्युज, २४ वैशाख ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लामा क्रियाशील रहेका नागरिक समाज संस्थाका प्रतिनिधिहरूले बुधबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बुधबार प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै पुगेर नागरिक समाजका अगुवाहरुले विभिन्न विषय समेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाइको ध्यानाकर्षण पत्रमा जिल्लामा पछिल्लो समय भइरहेको कालाबजारी र महङ्गी नियन्त्रण, यातायातका सवारी साधनहरूमा भइरहेको मनपरी भाडावृद्धि नियन्त्रण जस्ता विषयहरु समावेश रहेका छन् । गत मंगलबार बसेको जिल्ला पैरवी सन्जालको बैठक ती विषयहरुमा छलफल समेत भएको थियो।
गत मंगलबार परिवर्तनशील महिला सामुदायिक संस्थाको संयोजनमा जिल्ला पैरवी सञ्जालको बैठक बसेको थियो । बैठकमा सहभागीहरूले पछिल्लो समय जिल्ला सदरमुकाम लगायत विभिन्न स्थानहरूमा खाद्य सामग्रीहरूको अभाव देखाउँदै अत्याधिक मूल्य वृद्धि गरिएको तथा म्याद गुज्रिएका सामग्रीहरू व्यापारीले बिक्री गरिरहेको विषयमा गुनासो गरेका थिए । त्यस्तै विदेशमा भइरहेको लडाई र पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई देखाउँदै जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने सवारी साधनहरूले मनपरी रूपमा भाडा वृद्धि गरेको भन्दै त्यसको सम्बोधनका लागि समेत पहल गर्नुपर्ने आवाज उठाएका थिए ।
छलफलका क्रममा नेपाल सरकारले निजी तथा सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूलाई भर्ना लगायतका विषयमा शुल्क लिन नमिल्ने घोषणा गरे पनि विद्यालय सञ्चालकहरुले विभिन्न बहानामा विद्यार्थीहरूसँग शुल्क असुलीको समेत गुनासो गरेका थिए। त्यस्तै पछिल्लो समय जिल्लामा मनोसामाजिक समस्या भएका बिरामीहरूको सङ्ख्या बढ्दै गएको तर जिल्लामा रहेका स्थानीय सरकारहरूले पर्याप्त सम्बोधन नगरेको समेत बताएका थिए ।
मङ्गलबार भएको बैठकको छलफल अनुसार प्रमुख जिल्ला अधिकारीलाई बुधबार ध्यानाकर्षण पत्र बुझाइएको परिवर्तनशील महिला सामुदायिक संस्थाकी अध्यक्ष पेमडोमा शेर्पाले जानकारी दिइन । ध्यानाकर्षण पत्रमा मूल्यवृद्धि तथा म्याद गुज्रिएका सामग्रीको बिक्री वितरणलाई नियन्त्रण गर्न तत्काल जिल्ला प्रशासन कार्यालयको अगुवाइमा अनुगमन हुनुपर्ने, यातायातमा भइरहेको मनपरी भाडा वृद्धिलाई नियन्त्रणका लागि छलफलका साथै पहल गर्नुपर्ने, स्थानीय सरकारहरू बजेट निर्माणका क्रममा रहेकाले गर्दा आगामी आर्थिक वर्षमा मनोसामाजिक समस्या भएका रोगीहरूको विषयमा बजेट विनियोजनका लागि प्राथमिकता राख्न आवश्यक समन्वय र छलफल गरिदिन अनुरोध समेत गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले नागरिक समाजका अगुवाहरुको तर्फबाट बुझाइएको विषयलाई तत्काल सम्बोधनका लागि आफूले सुरुवात गर्ने प्रतिबद्धता जनाएका छन् । कतिपय विषयमा कार्यालय हुँदाहुँदै पनि फिल्डसम्म भइरहेका विभिन्न गतिविधिहरु नागरिकहरुले देख्ने भन्दै त्यस्ता अनियमित गतिविधि हरूको विषयमा बेलाबेलामा कार्यालयमा जानकारी गराइदिन सहभागी प्रतिनिधिहरुलाई प्रमुख जिल्ला अधिकारीले अनुरोध गरेका थिए ।

