नेपाली समय Loading...२०८३ बैशाख २१ सोमबार

धामीले दिएको औषधिले विदेश जान ठिक्क परेका ओखलढुङ्गाका एक युवकको मृत्यु

मृतक दिवेश बुढाथोकी

ओखलढुङ्गान्युज, २१ बैशाख काठमाडौंको । झाँक्रीको विश्वासमा पर्दा बुधबार बिदेश उड्न ठिक्क परेका ओखलढुङ्गाका एक २९ वर्षीय युवकको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर २ ठूलाछाप निसंखे घर भई हाल काठमाडौँ काँडाघारी स्थित गोठाटार बस्दै आएका दिवेश बुढाथोकी रहेका छन् । 

मृतक बुढाथोकी आगामी बुधबार वैदेशिक रोजगारीका लागि मलेसिया जाने क्रममा रहेका थिए । मृतक बुढाथोकी शनिबार आफूलाई खाना अरुचि भएपश्चात झारफुक गराउन भन्दै काँडाघारीमा रहेको भगवती तान्त्रिक सेवा केन्द्रमा पुगेका थिए । खानामा अरुचि भई पेट दुखेर झारफुक गर्न तान्त्रिक सेवा केन्द्रमा पुगेका बुढाथोकीलाई त्यहाँका तान्त्रिक गुरु मोतीबहादुर खड्का (दोलखा) ले खानामा कसैले आँखा लगाएको भन्दै खानामा झारफुक पश्चात बिखमा भन्ने औषधि सेवन गर्न दिएका थिए । 

तान्त्रिक गुरु खड्काले विखमा भन्ने जडिबुटी घोटेर खान दिए पश्चात झारफुक गरेको खाना भने नजिकै रहेको डेरामा गई खाने भनेर बुढाथोकी कोठातर्फ गएका थिए । बुढाथोकी कोठामा पुग्दा नपुग्दै उनको जिब्रो र मुख सुनिए पश्चात बोल्न नसक्ने गरी ढलेका थिए । झाँक्रीले फुकेर दिएको खाना पनि बुढाथोकीले खान सकेका थिएनन् ।

बुढाथोकी उठ्न नसक्ने तथा बोल्न नसक्ने भएपश्चात उनकी श्रीमतीले नजिकको आफन्तसँग गुहार मागेकी थिइन् । आफन्तहरू जम्मा भएर बुढाथोकीको अवस्था नाजुक देखिए पश्चात उनलाई तत्काल एम्बुलेन्स मार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो । अस्पताल पुर्‍याको केही समयमा नै अस्पतालले कार्कीको मृत्यु भएको घोषणा गरेको मृतकका आफन्त अनिल कार्कीले जानकारी दिए । 

बुढाथोकीको मृत्यु पश्चात उनको सबलाई पोस्टमार्टम गरी आइतबार नै पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ । उपचारमा गएका बुढाथोकीको मृत्यु भएपश्चात भगवती तान्त्रिक सेवा केन्द्र काँडाघारीका गुरु भनिने मोतीबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्कालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय झाँक्रीको विश्वासमा परि मात्रा नमिलाई झाँक्रीले दिएको तर थाहा नपाएको औषधि सेवन गर्दा बिरामीहरूको मृत्यु समेत हुने गरेको छ । झाँक्रीले दिएको औषधि सेवन गरेको दुई घण्टाभित्र नै बुढाथोकीको मृत्यु भएको तथा त्यही औषधि सेवनका कारण नै मृत्यु भएको भन्दै आफन्तले झाँक्रीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । 

बुढाथोकी चम्पादेवी गाउँपालिका ५ आत्मारा भन्ने ठाउँमा जन्मिएको भए पनि केही समय अगाडि उनको परिवार सिद्धिचरण नगरपालिका २ मा बसाईसराई गरी गएका थिए । मृतक बुढाथोकीका श्रीमती र एक नाबालक छोरा रहेका छन् ।