नेपाली समय Loading...२०८३ बैशाख १९ शनिबार

सुनकोशी अध्यक्ष कप : भलिबलको उपाधि महिला पुरुष दुवै च्यानमलाई

ब्याडमिन्टन जिल्लास्तरीय विधातर्फ विजेता टिम

ओखलढुङ्गान्युज, १९ वैशाख मूलखर्क । सुनकोशी गाउँपालिकामा सम्पन्न अध्यक्ष कपको भलिबल तर्फको उपाधि महिला पुरुष दुवै सुनकोशी गाउँपालिका ७ च्यानमले जितेको छ। शुक्रबार साँझ सम्पन्न भएको वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा च्यानमले उपाधि जितेको हो । उपाधि जित्दै सुनकोशी गाउँपालिका ७ च्यानमले पुरुषतर्फ नगद रु १ लाख तथा महिलातर्फ नगद रू ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । 

ब्याडमिन्टनमा भेट्रान्स ९०+ बिधातर्फ विजेता टिम

पुरुषतर्फको प्रतियोगितामा सुनकोशी ७ च्यानमसँग पराजित बनेको सुनकोशी ५ मूलखर्कले पनि नगद रु ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ । तेस्रो बनेको सुनकोशी गाउँपालिका ८ च्यानमले नगद रु ३० हजार र सान्त्वना स्थान प्राप्त गरेको सुनकोशी गाउँपालिका १० कटुन्जेले नगद रु २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।

पालिकातर्फ विजेता बाबुछोराको टिम

त्यस्तै महिलातर्फको प्रतियोगितामा दोस्रो बनेको सुनकोशी गाउँपालिका ८ च्यानमले नगद रु ३० हजार, तेस्रो बनेको सुनकोशी ५ मूलखर्कले नगद रु २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भलिबल प्रतियोगितामा महिला तर्फ सान्त्वना स्थान प्राप्त गरेको सुनकोशी ६ पाराले भने नगद रु १० हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

पुरुष भलिबल विजेता सुनकोशी ७ टिम

प्रतियोगिताको विधागत उपाधिमा पुरुष तर्फ वडा नम्बर ७ का सन्देश कटवाल उत्कृष्ट ब्लकर, वडा नं ८ का सबिन श्रेष्ठ उत्कृष्ट सर्भर, वडा नम्बर ५ का फुर्वा तामाङ उत्कृष्ट सेटर, वडा नं ७ का सबिन कटवाल उत्कृष्ट डिफेन्डर, वडा नम्बर ५ का मिलन बिक उत्कृष्ट स्पाइकर तथा वडा नं ७ का केशव कटवाल सर्वोत्कृष्ट खेलाडी घोषित भए । वडा नम्बर ५ का मिलन तामाङ पनि प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।

महिला भलिबलतर्फ विजेता सुनकोशी ७ को टिम

त्यस्तै महिलातर्फ वडा नम्बर ६ की अस्मिता आले मगर उत्कृष्ट सर्भर, वडा नं ८ की दीपिका श्रेष्ठ उत्कृष्ट सेटर, वडा नम्बर ८ की निकिता अधिकारी उत्कृष्ट डिफेन्डर, वडा नं ५ की ममता तामाङ उत्कृष्ट स्पाइकर, वडा नं ७ कि ज्योति कटवाल उत्कृष्ट ब्लकर घोषित भए । प्रतियोगितामा महिलातर्फ वडा नं ७ कि इन्दिरा कार्की सर्वोत्कृष्ट खेलाडी तथा वडा नं ७ का भोजबहादुर बोगटी उत्कृष्ट प्रशिक्षक घोषित बन्न पुगे ।

त्यस्तै अध्यक्ष कप तेस्रो संस्करणको ब्याडमिन्टन तर्फ जिल्लास्तरीय विधामा हिरा राई र मनिष तामाङको जोडी विजेता तथा रामकुमार राई र गोविन्दराम तामाङको जोडी उपविजेता बन्न पुगे । पालिका स्तरीय विधामा मनिष तामाङ र युनिस तामाङको जोडी विजेता तथा गङ्गाराम तामाङ र गोविन्दराम तामाङको जोडी उपविजेता बन्न पुगे । पालिका स्तरीय विधामा विजेता मनिष र युनिस बाबु छोरा हुन् भने उपविजेता गङ्गाराम र गोविन्दराम दाजुभाई हुन् । 

पुरुष भलिबल उपविजेता सुनकोशी ५ मूलखर्क टिम

त्यस्तै ब्याडमिन्टनमा पालिका स्तरीय विधातर्फ हिरा राई र सर्वधन राईको जोडी विजेता बन्न सफल भयो भने कमल तामाङ र रामकुमार राईको टोली उपविजेता बन्न पुगे । उपविजेता बनेका कमल तामाङ सुनकोशी गाउँपालिकाका अध्यक्ष हुन् भने रामकुमार राई मानेभन्ज्याङ गाउँपालिकाका वडा अध्यक्ष हुन् ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ उपाध्यक्ष सुनिता अधिकारी लगायत अतिथिहरुले नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । बुद्ध जयन्तीको दिन पारेर आयोजना गरिएको उक्त प्रतियोगिताको समापन पश्चात मूलखर्कमा गुन्द्री मेला समेत लागेका थियो । गुन्द्री मेलामा स्थानीय तथा राष्ट्रिय विभिन्न कलाकारहरुले आफ्नो सांस्कृतिक प्रस्तुति समेत राखेका थिए ।