दूधकोशी किनारमा एक पुरुषको सब फेला
ओखलढुङ्गान्युज, १८ बैशाख ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा एक पुरुषको बेवारिसे सब फेला परेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर १ मूलघाट स्थित दूधकोशी नदीको किनारमा बुधबार दिउँसो पुरुषको बेवारिसे सब फेला परेको हो ।
शब फेला परे पश्चात जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक ईश्वरी कार्कीको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी सबलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याएको छ ।
बेवारिसे शबलाई हाल जिल्ला अस्पताल रुम्जाटारको शबगृहमा राखिएको छ । शबगृहमा शव राखेको तीन दिन बितिसक्दा पनि कसैले सबको दाबी नगरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । सब कुहिएर गनाउन थालेकोले अनुहार चिन्न सकिने अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।
मृतकको बारेमा ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुमा जानकारी गराए पनि शब कसको हो भनेर केही खुल्न नसकेको र नखुल्दा पोस्टमार्टममा समस्या भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । जिल्लाको कुनै स्थानमा कोही पुरुष हराएको भए जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

