नेपाली समय Loading...२०८३ बैशाख १७ बिहीबार

सुनकोशीमा अध्यक्ष कप तेश्रो संस्करण सुरु

ओखलढुङ्गान्युज, १६ बैशाख मुलखर्क । जिल्लाको सुनकोशी गाउँपालिकामा आजबाट अध्यक्ष कप खेलकुद प्रतियोगिताको तेश्रो संस्करण सुरु भएको छ । गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप तेश्रो संस्करणको जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराईले एक समारोहका बिच समुद्घाटन गरेका हुन् ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले नागरिकले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिलाइ काम लगाउन र खबरदारी गर्न सधैं तयार रन आग्रह गरे । मालिकको काम काम लगाउने र कामदारले काम काम गर्ने बताउदै नागरिक मालिक र जनप्रतिनिधि कामदार रहेको बताए । 

ओखलढुङ्गामा तातिरहेको एक विषयको प्रसंग झिक्दै प्रमुख अतिथि भट्टराईले शिक्षकहरु बौद्धिकताको खानी भएको बताए । जनप्रतिनिधि हुँ भन्दैमा धेरै घमण्ड नगर्न अनुरोध गर्दै भट्टराईले धेरै घमण्ड गरे आफै सकिने भन्दै जनप्रतिनिधिहरुलाइ सचेत पनि गराएका थिए ।

सुनकोशी गाउँपालिकाले अघिल्लो वर्ष अध्यक्ष कपको दोश्रो संस्करणमा फुटसल प्रतियोगिताको आयोजना गरेको थियो । यस पटक भने सुनकोशी गाउँपालिकाका वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, सुनकोशी गाउँपालिका स्तरीय तथा जिल्ला स्तरीय र ९०+ भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ ।

उद्घाटन समारोह कार्यक्रममा अतिथिहरु चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी, सुनकोशी गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी लगायत अतिथिहरूले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिता बैशाख १८ गते बुद्ध पुर्णिमाको दिन मुलखर्कमा लाग्ने गुन्द्री मेलासँगै समापन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा भलिबल तर्फ पुरुष १० टीम तथा महिला ४ टीमले सहभागिता जनाएका छन् । तिन इभेन्ट्समा सन्चालन हुने ब्याडमिन्टन प्रतियोगितामा भने ३० टीम भन्दा बढीले सहभागिता जनाएका छन् । उद्घाटन सत्रको कार्यक्रम गाउँपालिकाका अध्यक्ष कमल तामाङको सभापतित्व तथा शिक्षा शाखा प्रमुख विवेक कुमार तामाङको सन्चालनमा सम्पन्न भएको हो ।