नेपाली समय Loading...२०८३ बैशाख १३ आईतवार

सैपुमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि लिखुको खाल्टेलाई 

विजेता : लिखु गाउँपालिका ६ खाल्टे

ओखलढुङ्गान्युज, १३ वैशाख सैपु । सैपुमा सम्पन्न प्रथम वडा अध्यक्ष कप खुला वडास्तरीय पुरुष भलिबलको उपाधि लिखु गाउँपालिकाको खाल्टेले जितेको छ । शनिबार लिखु तामाकोसी गाउँपालिका २ सैपुको चण्डेश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा खाल्टेले उपाधि जित्दै नगद रु १ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।

उपविजेता : लिखु गाउँपालिका ७ गाम्नाङटार

निकै प्रतिस्पर्धात्मक रहेको फाइनल खेलमा लिखु गाउँपालिका ७ गाम्नाङटारलाई २-१ सेटमा पराजित गर्दै लिखु गाउँपालिका ६ खाल्टे विजयी बनेको हो । प्रतिस्पर्धात्मक खेलमा खाल्टेले गाम्नाङटारलाई २६-२८, २६-२४ र २५-२३ ले पराजित गरेको हो । फाइनलमा पराजित बनेर उपविजेता बनेको गाम्नाङटारले पनि नगद रु ६० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा खानीखोला गाउँपालिका ७ काभ्रेलाई पराजित गर्दै चम्पादेवी गाउँपालिका २ पलापु विजय बनेको छ। तेस्रो बनेको पलापुले नगद रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्त्वना स्थान प्राप्त गरेको खानीखोलाले पनि नगद रु १५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको थियो । फाइनल खेल अगाडि भएको प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा गाम्नाङटारले पलापुलाई र खाल्टेले खानीखोलालाई पराजित गरेर फाइनल प्रवेश गरेका थिए ।

फाइनल प्रतिस्पर्धी टीम

प्रतियोगितामा गाम्नाङटारका विक्रम श्रेष्ठ उत्कृष्ट सेटर, खानीखोलाका महेश स्याङ्तान उत्कृष्ट ब्लकर, खाल्टेका कृष्ण थापा उत्कृष्ट सर्भर घोषित भए । त्यस्तै गाम्नाङटारका प्रकाश पौडेल उत्कृष्ट स्पाइकर, पलापुका निरोज मगर उत्कृष्ट लिब्रो घोषित हुँदै ट्रफी सहित जनही नगद रु १००० प्राप्त गरे । प्रतियोगितामा खाल्टेका सन्देश मगर सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु २००० सहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा खाल्टेका मिलन भट्टराई उत्कृष्ट कोच घोषित बन्दै नगद रु १००० सहित ट्रफी प्राप्त गरे ‌।

प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत, बिशेष अतिथि गाउँपालिका उपाध्यक्ष दिपा पाख्रिन लगायत अतिथिहरुले नगद, सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । समापन कार्यक्रममा प्रतियोगितालाई सफल पार्नका लागि नगद रु ५ हजारभन्दा माथि सहयोग प्रदान गर्ने सहयोगी दाताहरूलाई सम्मानपत्रले सम्मान समेत गरिएको थियो ।

वैशाख १० गतेबाट १२ गतेसम्म लिखु तामाकोसी गाउँपालिका २ सैपुमा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा रामेछाप, ओखलढुङ्गा र काभ्रे जिल्लाको गरी १६ वटा टिमले सहभागिता जनाएका थिए ।