नेपाली समय Loading...२०८३ बैशाख ११ शुक्रबार

ओखलढुङ्गामा वैशाख २९ गतेबाट राष्ट्रपति रनिङशील्ड हुने 

फायल तस्वीर

ओखलढुङ्गान्युज, ११ वैशाख । आगामी वैशाख २९ गतेबाट ओखलढुङ्गामा अन्तरपालिका स्तरीय जिल्ला खेलाडी छनोट राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता २०८२ सुरु हुने भएको छ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा रहेको मानेभन्ज्याङ खेलमैदानमा ओखलढुङ्गा जिल्ला अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता हुने भएको हो ।

गत वर्षको अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता चम्पादेवी गाउँपालिकाले आयोजना गरेको थियो भने यसपटक भने मानेभन्ज्याङ गाउँपालिकाले आयोजना गर्न लागेको हो । अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता मानेभन्ज्याङ गाउँपालिकाको खेलमैदानमा सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाका अध्यक्ष प्रविण श्रेष्ठले जानकारी दिए । जिल्ला खेलाडी छनोट अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा यसपटक ओखलढुङ्गा जिल्लाका आठ वटै स्थानीय तहका खेलाडीहरू सहभागी हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अन्तरपालिका स्तरीय जिल्ला खेलाडी छनोट प्रतियोगितामा आफ्ना खेलाडीहरूलाई सहभागिता गराइदिनुहुन सबै पालिकाहरुलाई अध्यक्ष श्रेष्ठले अनुरोध समेत गरेका छन् । यस अगाडि जिल्लाका आठवटै स्थानीय तहहरूमा अन्तर माध्यमिक विद्यालय स्तरीय पालिका खेलाडी छनौट प्रतियोगिता सम्पन्न भएको थियो । छनोटमा परेका आफ्ना पालिकाका सबै विद्यार्थीहरूलाई जिल्लास्तरीय छनोट प्रतियोगितामा समेत सहभागिता हुने अवसर प्रदानका लागि आवश्यक समन्वय गरिदिन सबै गाउँपालिकासँग अध्यक्ष श्रेष्ठले अनुरोध गरेका हुन् । 

सरकारले केन्द्रीय राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता हुने मितिको टुङ्गो लगाएसँगै जिल्लाको पनि खेलाडी छनौटका लागि राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता हुने मितिको तय भएको हो । जिल्ला छनौट प्रतियोगिताका लागि मिति तय भएसँगै कतिपय स्थानीय तहले भने आफ्ना खेलाडीको सहभागिताका लागि बन्द प्रशिक्षण समेत सुरुवात गरेका छन् ।