नेपाली समय Loading...२०८३ बैशाख १० बिहीबार

रामेछापको सैपुमा वडास्तरीय भलिबल प्रतियोगिता सुरु

ओखलढुङ्गान्युज, १० वैशाख सैपु । आजबाट सैपुमा खुल्ला वडास्तरीय प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको लिखु तामाकोशी गाउँपालिका रामेछापकी उपाध्यक्ष दीपा पाख्रिनले एक औपचारिक कार्यक्रमका बीच समुद्घाटन गरेकी हुन् ।

आजदेखि सुरुवात भएको खुला वडा स्तरीय प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता २०८३ मा रामेछाप ओखलढुङ्गा र काभ्रे जिल्लाका गरी १६ वटा टिमले सहभागिता जनाएका छन । प्रतियोगिता अन्तर्गत आज पहिलो दिन भएको खेलमा साँघुटार युवा क्लब रामेछाप नगरपालिका ३ साँघुटार, खिजिदेम्बा गाउँपालिका ७ रावादोलु ओखलढुङ्गा र लिखु तामाकोशी गाउँपालिका ५ नागदह रामेछापले विजयीयात्रा सुरुवात गरेका छन् ‌।

आजदेखि सुरु भएको प्रतियोगिता आगामी वैशाख १२ गते समापन हुनेछ । राष्ट्रिय भूकम्प दिवस वैशाख १२ को अवसर पारेर प्रतियोगिताको समापन गर्ने तथा लिखुतामाकोशी गाउँपालिका वडा नम्बर २ सैपुको नवनिर्मित भवनको समुद्घाटन समेत गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद रू १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता हुने टिमले नगद रू ६० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तैगरी प्रतियोगितामा तृतीय बन्न सफल हुने टिमले नगद रु ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने सान्त्वना स्थान प्राप्त गर्ने टिमले नगद रु १५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै विधागत तर्फ प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद रु २००० प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै अन्य विधागत तर्फ उत्कृष्ट स्पाइकर ब्लकर, सर्भर, सेटर तथा लिब्रोलाई पनि जनहि नगद रु १००० प्रदान गरिने वडा अध्यक्ष पौडेलले जानकारी दिए ।