रामेछापको सैपुमा वडास्तरीय भलिबल, विजेताले पाउनेछ नगद रु. १ लाख

ओखलढुङ्गान्यु, ४ वैशाख सैपु । आगामी वैशाख १० देखि १२ गतेसम्म रामेछाप जिल्लाको सैपुमा वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका २ सैपुमा हुने वडास्तरीय पुरुष भलिबल प्रतियोगिताका विजेताले नगद रू १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सैपुमा हुने खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताका उपविजेताले नगद रू ६० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तैगरी प्रतियोगितामा तृतीय बन्न सफल हुने टिमले नगद रु ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने शान्त नै स्थान प्राप्त गर्ने टिमले नगद रु १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै विधागत तर्फ प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद रु २००० प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै अन्य विधागत तर्फ उत्कृष्ट स्पाइकर ब्लकर, सर्भर, सेटर तथा लिब्रोलाई पनि जनहि नगद रु १००० प्रदान गरिने लिखु तामाकोशी गाउँपालिका २ सैपु रामेछापका वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए ।
पछिल्लो समय रामेछाप जिल्लाकै अन्य स्थानमा हुने खेल जुधेका कारण सैपुमा हुने गेम स्थगित भएको भन्ने भ्रम फैलिएको भन्दै उक्त भ्रममा नपर्न समेत आयोजकले सम्पूर्ण खेलाडीहरुमा जानकारी गराएको छ । प्रतियोगितामा सहभागिता हुन इच्छुक टिमले ९ गते बेलुकीसम्म टिम दर्ता गराइसक्नुपर्ने तथा खेल १० गते बिहान ११ बजेबाट सुरुवात हुने समेत आयोजकले जनाएको छ ।

