नेपाली समय Loading...२०८३ जेष्ठ ३१, आइतवार

ओखलढुङ्गा एमाले जिल्ला कमिटी नै नेकपामा लैजाने अम्बिरबाबुकाे घोषणा

ओखलढुङ्गान्युज, माघ ८ काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीबाट ओखलढुङ्गामा उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले नेकपा एमाले ओखलढुङ्गाको सिङ्गो जिल्ला कमिटी नै नेकपामा समाहित गराउने घोषणा गरेका छन् । नेकपा (एमाले) परित्याग गरी केही दिन अगाडि मात्र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका पूर्व कोशी प्रदेश मन्त्री समेत रहेका गुरुङले एमाले ओखलढुङ्गाको सिंगो जिल्ला कमिटी नै नेकपामा समाहित गराउने घोषणा गरेका हुन् । 

आज (बिहीबार) काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी ओखलढुङ्गाको अगुवा नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले केहि दिनमा नै एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका सम्पूर्ण सदस्यलाई सामूहिक रूपमा नेकपामा प्रवेश गराउने घोषणा गरेका हुन् ।

आसन्न फागुन २१ गते संघीय प्रतिनिधि सभा सांसद पदका लागि हुने निर्वाचनमा एमाले जिल्ला कमिटीले पुर्व मन्त्री गुरुङ लगायत पाँच जनाकाे नाम उम्मेदवारका लागि सिफारिस गरेको थियो । तर पाँचजनाको नाम सिफारिस गरेको भएपनि एमाले अध्यक्ष केपी ओलीले एमाले जिल्ला कमिटीका उपसचिव एवं लिखु गाउँपालिकाका निर्वाचित उपाध्यक्ष अस्मिता थापालाई टिकट दिएपछि गुरुङ असन्तुष्ट बनेका थिए । एमाले जिल्ला कमिटीले समेत साे निर्णयकाे विराेध गरेकाे थियाे भने चार भातृ संगठनले त्यसको विरोधमा जिल्ला पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

एमालेको गाउँँगाउँमा तथा टोलटोलमा संगठन बनाउन कमजोर रहेको आरोप खेप्दै आएका काेशी प्रदेश सरकारकाे पुर्व भाैतिक तथा पुर्वाधार विकास मन्त्री गुरुङले लामो समयदेखी एमालेमा बलियो राजनीतिक पकड बनाएका छन् । उनी हाल नेकपाबाट ओखलढुङ्गाको उम्मेदवार समेत हुन् । गुरुङले गरेको पार्टी परिवर्तनसँगै ओखलढुङ्गा एमाले अहिले गम्भीर संकटमा फसेको छ । चुनावी समीकरण एकाएक उल्टिँदा ओखलढुङ्गा जिल्लाको राजनीति नयाँ मोडमा पुगेको छ । 

गुरुङ नेकपामा प्रवेश गरेर टिकट प्राप्त गरेपश्चात जनता समाजवादी पार्टी ओखलढुङ्गाले गुरुङलाई समर्थन गरिसकेको छ । उता नेपाली कांग्रेसको तर्फबाट रामहरि खतिवडाले टिकट नपाएको झोकमा कांग्रेसको असन्तुष्ट पक्षले समेत गुरुङलाई समर्थन गर्ने तयारी गरिरहेको बुझिएको छ । यो सँगै अब ओखलढुङ्गामा दुईपक्षीय मात्र नभएर चारपक्षीय चुनावी भिडन्त हुने आकलन गरिएको छ ।