जापान विरुद्ध नेपालको ५ विकेटको जित
ओखलढुङ्गान्युज, असोज २४ काठमाण्डौं । आज शुक्रबार साँझ सम्पन्न भएको खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ ।
जापानले दिएको १३२ रनको लक्ष्य पूरा गर्न एकसमय धरमराईसकेको नेपालले २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । लक्ष्य पछ्याउने क्रममा ९० रनमा ५ विकेट गुमाएर नेपालको इनिङ केहीबेर धर्मराएपनि गुल्शन र दीपेन्द्रले संयमित ब्याटिङ गर्दै जित दिलाए । नेपालको आजको जितका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए । गुल्शन झा २८ तथा दीपेन्द्रसिंह ऐरी १४ रनमा अविजित रहे । कुशल भुर्तेलले २१ तथा कप्तान रोहित पौडेलले १८ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो । नेपालले जापानलाई हराएसँगै सुपर सिक्समा २ अंकका साथ सुरुवात गर्ने भएको छ । दुवै टोली यसअघि नै सुपर सिक्समा पुगिसकेका छन् ।

