नेपाली समय Loading...२०८३ बैशाख २४ बिहीबार

विपी राजमार्ग एकतर्फी बाटो खुला

ओखलढुङ्गान्युज, असोज २४ सिन्धुली । अबरुद्ध रहेको विपी राजमार्गको रोशी खोला सडक आजबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । गत असोज १७, १८ र १९ गते आएको लगातार बर्षातको कारण बाढी र पहिरो आएर अबरुद्ध रहेको विपी राजमार्ग अन्तर्गत रोशी सडक खण्ड शुक्रबार साँझबाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

अबरुद्ध रहेको विपी राजमार्गको उक्त क्षेत्रले बागमती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने सडक हो । आज शुक्रबार साँझबाट उक्त सडक खण्डमा एकतर्फी परीक्षण खुलेको भएपनि शनिवारबाट भने नियमितरुपमा गाडी खुलाइने भएको छ । उक्त राजमार्ग दुईतर्फी रूपमा आइतवारदेखि सञ्चालनमा आउने सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले बताए ।

वर्तमान नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीवार बिहान अबरुद्ध सडक खण्ड अन्तर्गत काभ्रेको चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको अवस्थाबारे जानकारी लिएका थिए । अनुगमनका क्रममा मन्त्री घिसिङले सडक सञ्चालन गर्न सडक मर्मतका लागि उपकरण तथा जनशक्ति थप गर्न र बत्तीको व्यवस्था गरी राति पनि काम गर्न निर्देशन दिएका थिए ।

मन्त्री घिसिङको निर्देशन सँगै अबरुद्ध राजमार्गको काभ्रे र सिन्धुलीका विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब चार किलोमिटर सडकलाई रातदिन गरेर अस्थायी रूपमा मर्मत गरी आजबाट सञ्चालनमा ल्याईएको हो । सडक खुलाउन रोशीखोलामा डाइसर्भन निर्माण, बगर मिलाउने, खाल्डा पुर्ने लगायत काम गरिएको छ ।