नेपाली समय Loading...२०८३ बैशाख ३१ बिहीबार

बहुविवाह सम्बन्धि प्रस्तावित मस्यौदाको विरुद्धमा प्रजिअ मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण

ओखलढुङ्गान्युज, साउन २३ ओखलढुङ्गा महिला अधिकारको पक्षमा कार्यरत ओखलढुङ्गाका विभिन्न महिला समूहहरुले नेपाल सरकारले ल्याउन लागेको बहुविवाह सम्बन्धि प्रस्तावित मस्यौदाको विरुद्धमा विभिन्न माग राख्दैै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । विभिन्न माग राख्दै महिला समूह तथा सञ्जालहरुले संयुक्त रुपमा आज प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी मार्फत प्रधानमन्त्री तथा मन्त्रीहरुलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

प्रधानमन्त्री र कानूनमन्त्रीलाई पठाईएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सरकारद्वारा मुलुकी अपराध संहिताको धारा १७५ संशोधन गरी बहुविवाहलाई निश्चित परिस्थितीमा कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा सार्वजनिक भएको सन्दर्भमा ओखलढुङ्गा जिल्लाका हामी महिला अधिकारकर्मीहरुको गम्भिर आपत्ति प्रकट गर्दछौं । यो प्रस्तावनाले नेपालको संबिधान, अन्तराष्ट्रिय मानव अधिकार सन्धिहरु र महिला अधिकारको मुल्यमान्यता विरुद्ध गम्भिर चुनौती खडा गरेको छ । यस्तो व्यबस्था महिलाको आत्मसम्मान, सामाजिक सुरक्षा र बैवाहिक अधिकार माथि गम्भिर प्रहार हो ।’

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘प्रस्तावित संशोधनले संबैधानिक र अन्तराष्ट्रिय प्रतिबद्धताहरुको उल्लंघन गर्दछ । यसले सामाजिक न्याय र लैङ्गिक समानताको सिद्धान्तहरुमा प्रत्यक्ष आघात पु¥याउने भएकोले हामी निम्न माग सहित सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौं ।’

ध्यानाकर्षण पत्रमा प्रस्तावित मस्यौदा तुरुन्त खारेज हुनुपर्ने, बहुविवाह सम्बन्धी मौजुदा निषेधात्मक कानुनलाई अझ सशक्त र प्रभावकारी बनाईनुपर्ने लगायतका रहेका छन् । ध्यानाकर्षण पत्रमा विभिन्न महिला सञ्जालका सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले यसलाई तत्काल आफूले इृमेल मार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र पठाउने प्रतिबद्धता जनाएका थिए ।