रमाईलोडाँडामा एकमहिने च्याउखेती सम्बन्धी तालिम सम्पन्न

ओखलढुङ्गान्युज, असार २३ ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिकाको रमाईलोडाँडामा एक महिने च्याउ खेती सम्बन्धीको तालिम सम्पन्न भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ११ रमाईलोडाँडामा आज एक औपचारिक कार्यक्रमका बिच तालिमको समापन गरिएको हो ।
तालिमको सिद्धिचरण नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष विनोद ताम्राकारले समापन गरेका हुन् । समापनमा सम्बोधन गर्दै वडा अध्यक्ष ताम्राकारले पछिल्लो समयमा युवाहरु विदेश पलायन हुदै गर्दा गाउँघर सुनसान हुन लागेको भन्दै युवाहरु नहुँदा उत्पादन समेत घटेको बताए । शीप नसिकी विदेश पलायन हुँदा विदेशिएकाहरुले दुःख पाएको वडा अध्यक्ष केसीको भनाई छ ।
त्यसैले शीप विकास तथा तालिम केन्द्रसँगको समन्वयमा वडाले सहकार्य गरेर तालिम सञ्चालन गरेको ताम्राकारको भनाई छ । शीप सिकिराख्दा जुन कुनै समयमा पनि काम लाग्नुका साथै व्यबहारमा उतारे किनेर खानेले पनि खान पाउने र ब्यबसाय गर्नेको समेत आर्थिक उपार्जनमा टेवा पुग्ने भएकोले शीपलाई ब्यबहारमा उतार्न सहभागी सबैलाई वडा अध्यक्ष ताम्राकारले अनुरोध गरे ।
तालिममा सिद्धिचरण नगरपालिका वडा नं. ११ का २२ जना कृषकहरुले सहभागीता जनाएका थिए । तालिममा सहभागीहरुलाई वडा अध्यक्ष ताम्राकार, शीप विकास तथा तालिम केन्द्रका लेखा प्रमुख बालकृष्ण श्रेष्ठ लगायतका अतिथीहरुले सहभागीताको प्रमाणपत्र प्रदान गरेका थिए ।

