खिजिदेम्बा गाउँपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु
ओखलढुङ्गान्युज, बैशाख २२ खिजीफलाटे । जिल्लाको खिजीदेम्बा गाउँपालिकामा आज बिहान करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जिल्ला साविक हसुलिया गाविस वडा नम्बर ४ बस्ने अन्दाजी वर्ष ३० को बिन्दु चौधरी रहेका छन् ।
खिजिदेम्बा गाउँपालिका वडा नं ८ रावाटोलमा सिग्मा कम्पनी प्राली काठमाडौँको ठेक्कामा रहेको ट्रान्सफर्मर चार्ज गर्ने क्रममा सोमबार बिहान १० बजे करेन्ट लागेर उनको मृत्यु भएको हो । सिग्मा कम्पनीको ठेक्कामा अहिले खिजीदेम्बा गाउँपालिकाको विभिन्न वडाहरूमा विद्युत विस्तारका लागि पोल र तार टाग्ने काम भइरहेको छ । विद्युत विस्तारका क्रममा रहेको ट्रान्सफर्मर चार्ज गर्ने क्रममा प्रयाप्त सूचनाको अभावमा अर्को स्थानबाट करेन्ट प्रवाह हुँदा चौधरीको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म चौधरीको सब ट्रान्समिटरमा नै टाँसिएर रहेको छ । घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरी निरीक्षक मनिष लुइटेलको नेतृत्वमा प्रहरीको टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
घटनाको बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

