जापानको जंगलमा तीन दशक यताकै भिषण आगलागी
ओखलढुङ्गान्युज, १९ फागुन । जापानको जंगलमा झण्डै तीन दशक यता कै भिषण आगलागी भएको छ । गत विहिवार देखी ओफुनाटो शहर नजिकै सुरुभएको डढेलो झन्डै दुई हजार एक सय हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
भिषण आगलागी नियन्त्रणका लागि अहिले जापानका झन्डै एक हजार सात सय जना अग्निनियन्त्रक परिचालन गरिएको अग्नि तथा विपद् व्यवस्थापन निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । आगलागी नियन्त्रणका लागि जापानका १४ वटा क्षेत्रका अग्निनियन्त्रक र सेनासहित १६ वटा हेलिकप्टरले डढेलो निभाउने प्रयास गरिरहेका एएफपी खबरमा उल्लेख छ ।
जापानका अधिकारीहरूका अनुसार आगलागीको जोखिममा रहेका झन्डै तीन हजार दुई सय भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । गएको हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एक जनाको ज्यान गएको थियो । राष्ट्रिय प्रसारक एनएचकेको ओफुनातोको शोमबार बिहानको फुटेजमा भवनहरू नजिकै सुन्तला रङ्गको ज्वाला र धूवाँ उडिरहेको देखिएको छ । सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा पनि जापानको देशभर झन्डै एक हजार तीन सय हेक्टर क्षेत्रफल जङ्गलमा डढेलो फैलिएको थियो ।

