नेपाली समय Loading...२०८३ बैशाख २४ बिहीबार

खिजिदेम्बामा सातौं राष्ट्रपति रनिङशील्ड सुरु 

ओखलढुङ्गान्युज, २७ मङ्सिर । खिजिदेम्बा गाउँपालिकामा अन्तरमाध्यमिक विद्यालय स्तरीय सातौं राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ५ खिजीफलाटेमा रहेको खेलमैदानमा प्रतियोगिता आजबाट सुरु भएको हो । 

प्रतियोगिताको पहिलो दिन फुलमती मावि खिजी फलाटेले उत्कृष्ट सुरुवात गरेको छ । खेलको पहिलो दिन फुलमती मावि खिजीफलाटेले २ स्वर्ण र १ काश्य सहित तीन पदक जितेको छ । त्यस्तै चण्डेश्वरी मावि पोल्थलीले एक स्वर्ण, एक रजत र एक कास्य सहित तीन पदक, चण्डेश्वरी मावि माझगाउँले एक स्वर्ण, एक रजत सहित दुई पदक प्राप्त गरेको छ ।

 त्यसैगरी नर्मदेश्वर मावि चप्लेटीले एक रजत, एक काश्य सहित दुई पदक, शिवालय मावि पात्लेले एक रजत तथा हिमगङ्गा मावि रावादोलुले एक काश्य प्राप्त गर्न सफल भएका छन् । प्रतियोगिताको पहिलो दिन कुन्डली मावि खिजीकातीले भने खाता खोल्न सकेको छैन । 

१ सय मिटर दौडतर्फ पुरुषमा फुलमती मावि खिजी फलाटेका राजेश श्रेष्ठ प्रथम, नर्मदेश्वर माविका सुशील श्रेष्ठ द्वितीय र चण्डेश्वरी मावि पोल्थलीका आयुष रोका तृतीय भए । त्यस्तै छात्रातर्फको १ सय मिटर दौडमा चण्डेश्वरी मावि पोल्थलीका एलिसा भुजेल प्रथम, चण्डेश्वरी मावि माझगाउँका शान्तमाया परियार द्वितीय र फुलमती मावि खिजीफलाटेका दिलमाया तामाङ तृतीय भएका छन् ।

१५०० मिटरतर्फ छात्रतर्फ फुलमती मावि खिजीफलाटेका लालबहादुर सुनुवार प्रथम, शिवालय मावि पात्लेका सुदीप तामाङ द्वितीय तथा नर्मदेश्वर मावि चप्लेटीका दीपक सुनुवार तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ चण्डेश्वरी मावि माझगाउँकी शान्तामाया परियार प्रथम, चण्डेश्वरी मावि पोल्थलीका रिया तामाङ द्वितीय तथा हिमागंगा मावि रावादोलुकी अइशा तामाङ तृतीय भएका छन् । 

बाँकी रहेका अन्य एथलेटिक्स तथा भलिवल तर्फका विधाहरूको प्रतियोगिता शुक्रबार बिहान ८ बजेबाट हुने आयोजकले जनाएको छ ।