आज बडादशैंको सातौ दिन फूलपाती भित्र्याईदै
ओखलढुङ्गान्युज, २४ असोज । हिन्दू नेपालीहरुको महान पर्व बडादशैंको आज सातौ दिन कालरात्री देवीको पूजा आराधना गरिदैछ । वडा दशैं अर्थात नवरात्रको सातौं दिन आज पूजा कोठामा एवम् दशैघरमा फूलपाती पनि भित्र्याइँदै छ ।
आज नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । देवीको स्वरुपलाई कालरात्रि भनिन्छ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन्।

